Free songs
Home / सम्पादकीय / सहिदका सपना

सहिदका सपना

नेपाली समाजले आधुनिक रुप ग्रहण गरेको एक सय वर्ष पनि पुगेको छैन। अहिलेको पुस्ताले इतिहास पढ्दा पनि सहजै विश्वास गर्न नसकिने विचित्रको अवस्था भेटिन्छ। अहिले राज्यले कुनै पनि व्यक्ति शिक्षाबाट बञ्चित नहोउन् भनेर अनेकथरि अभियान चलाउने गरेको छ तर एक सय वर्षमात्र अघिको नेपाल पढ्दा त्यहाँ भेट्न सकिन्छ, राज्यले नै जनताका छोराछोरीलाई पढ्नलेख्न प्रतिबन्ध लगाएको थियो। पढ्नेको जीब्रो काट्ने र लेख्नेका हात काट्नेसम्मका कारवाही पनि भएको भेटिन्छ। आखिर एक सय वर्षअघिको नेपाल अहिले कसरी यति ठूलो परिवर्तनको मोडमा आइपुग्न सक्यो ? समय निरन्तर फेरिइरहन्छ, समाज निरन्तर बदलिरहन्छ। घडीको सुइ जसरी एउटै गतिमा घुम्छ, समाज परिवर्तन त्यसरी हुँदैन। जतिबेलासम्म समाज सामान्य र सुषुप्तरुपमा बदलिरहेको हुन्छ, त्यसलाई आँखाले देख्न सकिदैन, जतिबेला समाज देखिने गरी बदलिदिन्छ, त्यसको स्वरुप सामान्य हुँदैन। समाज सुषठुप्तरुपमा बदलिरहन्छ, यसमा कुनै धक्का चाहिदैन तर समाज परिवर्तनलाई गुणात्मक बनाउन ठूलो जोडबल र धक्का चाहिन्छ, यसमा बलिदान अनिवार्यजस्तै हुन्छ।

झण्डै सात दशकअघि आएको असामान्य राजनीतिक परिवर्तनका कारण नेपाली समाजले आज खुला आकाशमा विचरण गर्न पाइरहेको छ। त्यसको महत्वपूर्ण आधार भनेको त्यतिबेलाको संघर्ष र बलिदान नै हो। जब राणा शासन मैमत्तरुपमा बर्बर शासन चलाउँदै अघि बढिरहेको थियो, विसं १९३३ सालमा लखन थापाले बिद्रोह गरे। सामान्य थिएन यो बिद्रोह। राणाकालीन बर्बरताको सांकेतिक बिरोध गर्दा उनी मारिए, जो आधुनिक नेपाल निर्माणको प्रथम सहिद बन्न पुगे। भित्रभित्रै जनताको आक्रोश बढ्दै गए पनि देखिने गरी अर्को बिद्रोह हुन झण्डै ६० वर्ष पर्खनुप¥यो। विसं १९९३ सालमा नेपालमा पहिलो पार्टी नेपाल प्रजापरिषद् स्थापना भएपछि राणाबिरोधी आन्दोलन संस्थागतरुपमा संगठित भयो। यही आन्दोलन अघि बढाएको आरोपमा बिसं १९९७ सालमा चारजनाको हत्या गरियो। माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा झुण्ड्याइयो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारको शोभा भगवती मन्दिरमा गोली हानियो। यही घटनाको सम्झनामा हामी हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउँछौं र माघ १६ गते अर्थात आज सहिद दिवसको रुपमा कार्यक्रम गरेर समापन गरिन्छ।

लखन थापादेखि शुरु भएको बलिदानी बिद्रोहको इतिहास चार सहिदसम्म आउँदा संगठित बिद्रोहको रुपमा अघि बढ्यो। फलस्वरुप दश वर्षमै बर्बर जहाँनिया राणा शासनको अन्त्य भयो। फेरि २०१७ सालमा पञ्चायती ब्यवस्थाको शुरुवात भयो र यसका बिरुद्ध ३० वर्षसम्म आन्दोलन चल्यो। यो बीचमा कैयन नेपाली आमाका छोराछोरीले रगत बगाए। २०४६ सालमा बहुदल आए पनि राजतन्त्रसहितको प्रजातन्त्र नटिक्ने भन्दै गणतन्त्रको मागसहित सशस्त्र जनयुद्ध शुरु भयो। २०५२ देखि २०६२ सालसम्मको सशस्त्र युद्ध नेपाली माटोमा चलेको सबैभन्दा लामो गृहयुद्ध मात्र भएन, यसबीचमा झण्डै १७ हजार नेपालीले ज्यान गुमाए। यो बलिदानपूर्ण इतिहासको जगमा दोस्रो जनआन्दोलन भयो र यसक्रममा पनि थुप्रैले ज्यान गुमाए। सशस्त्र र शान्तिपूर्ण दुबैखाले आन्दोलन र हजारौं सहिदको बलिदानपछि मुलुक विभिन्न राजनीतिक प्रक्रिया पूरा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ।

हामीले सहिद दिवस मनाउँदा अहिलेसम्मका सम्पूर्ण आन्दोलन सहिदहरुको उच्च सम्मान गर्न सक्नुपर्छ। सहिदको रगतको सम्मान गर्ने भनेको उनीहरुले देखेको सपना पूरा गरेर मात्रै हुन्छ। सहिदका सपना भनेका आम जनताकै सपना हुन्। आम नागरिकले अहिले पनि खोजेको भनेको समानता, स्वतन्त्रता, सम्मान, सुरक्षा, स्वाभीमान र समृद्धि हो, सहिदको सपना पनि यही नै हो। हरेक सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरुले आफू सहिदको रगतमा उभिएको अनुभूति गर्ने हो भने सपना साकार पार्न पनि त्यति गाह्रो छैन। परिवर्तनबाट लाभ लिने र परिवर्तन आम जनताको जीवनसँग नगाँस्नु सहिदको सपनाको अपमान हो, सहिद दिवसका दिन हरेक नेपालीले अरुलाई पनि भन्नुपर्छ र आफू पनि प्रतिबद्ध हुनैपर्छ– हामी सहिदको रगतको अपमान गर्ने छैनौं र गर्न दिने पनि छैनौं।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top