Free songs
Home / सम्पादकीय / महायज्ञ र महोत्सवहरुको उपयोगिता

महायज्ञ र महोत्सवहरुको उपयोगिता

शैक्षिक, सामाजिक, आर्थिक एवं व्यावसायिक क्षेत्रको विकास, संवद्र्धन र स्तरोन्नतिका साथै विविध उद्देश्यहरु राखेर महायज्ञ एवं महोत्सवहरु आयोजना गर्ने काम विगतदेखि हुँदै आइरहेको छ। दाङ जिल्ला पनि महायज्ञ र महोत्सवहरु धेरै आयोजना हुने जिल्लाहरुमा पर्दछ। यस्ता कार्यक्रमहरुलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने जिम्मेवारी मूलरुपमा संबद्ध आयोजक संस्थाकै हुन्छ। तर एउटै समयमा एकै ढंगका र समान उद्देश्यका कार्यक्रमहरु गरिदा त्यसको उपयोगिता कम हुने र कतिपय अवस्थामा सर्वसाधारण नागरिकहरु र दाताहरुलाई समेत बोझ हुने कुरामा आयोजक पक्ष, सरोकारवालाहरु र राज्यका अंगहरुले गम्भीरता देखाउन सक्नुपर्ने हुन्छ। एउटै समयमा महायज्ञ र महोत्सवको भीड लगाउनुभन्दा त्यसको समय व्यवस्थापन मिलाएर सञ्चालन गर्दा बढी प्रभावकारी हुने कुरामा यथेष्टरुपमा ध्यान दिनुपर्छ।

दाङ जिल्लामा एक वर्षको अवधिमा उच्च मावि भरतपुर र जनकल्याण मावि दूधरासले महायज्ञ सञ्चालन गरे भने बाराहक्षेत्र मावि सेवार बनगाउँ र मावि अश्वारा तुलसीपुर दाङले सञ्चालन गरेको महायज्ञ जारी छ। शिक्षाको उन्नति, विकास र शैक्षिक जागरण ल्याउन यी महायज्ञहरुले पक्कै पनि महत्वपूर्ण योगदान पु¥याएका छन्, पु¥याउने छन्। राज्यबाट सञ्चालित शैक्षिक संस्थाहरुको स्तरोन्नति र विकासमा जनस्तरबाट देखाएको उत्साह र जाँगरको जति प्रशंसा गरे पनि थोरै हुन्छ। मूलरुपमा यस्ता कामहरु राज्यको जिम्मेवारी भित्र पर्दछन्। शिक्षाको जिम्मेवारी राज्यको भए पनि जनस्तरबाट सहयोग जुटाएर यसलाई अगाडि बढाउँदा यो अझ दीगो र प्रभावकारी बन्नुका साथै यसप्रति नागरिक समुदायको अपनत्व बढ्छ। त्यसैले शैक्षिक विकासको लक्ष राखेर सञ्चालित यस्ता महायज्ञहरुलाई स्थानीय सरोकारवालाहरुले सहयोग गर्नुपर्दछ।

यसैगरी उद्योग वाणिज्य संघलगायतका विभिन्न व्यावसायिक संघसंस्थाहरुले सञ्चालन गर्दै आएका औद्योगिक–व्यापारिक मेला महोत्सवले आर्थिक गतिविधि बढाउनु र उद्योग व्यवसाय प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्। तर यस्ता मेला महोत्सवमा राखिने मनोरञ्जनात्मक पिङ, मौतका कुवामा सर्वसाधारणले बढी पैसा खर्चिने र रकम देश बाहिर जाने गरेको गुनासो सुनिदै आएको छ। त्यसैले मेला महोत्सवका नाममा सर्वसाधारण नागरिकले फजुल खर्च गर्ने परिस्थिति नआउने गरी संयोजन र व्यवस्थापन गर्न आवश्यक छ। यसमा तालमेल मिलाउन सकिएन भने मेला महोत्सवलाई विकृतिका रुपमा बुझ्ने परिस्थिति सिर्जना हुनेछ। दाङ जिल्ला उद्योग वाणिज्य संघले मेला लगाएर बचाएको पैसाले बहुउद्देश्यीय सभाहल बनाउने योजना बनायो र तदनुरुप राज्यको समेत सहयोग प्राप्त गरेर सभाहल निर्माण गर्ने काम तीब्रताका साथ भइरहेको छ। जेहोस्, यस्ता मेला महोत्सवहरु उद्देश्यमूलक हुनुपर्दछ र त्यसले कुनै न कुनै परिणाम दिन सक्नुपर्छ। तर यस्तो उदाहरण बिरलै भेटिने गर्छन्। नाचगान, खानपान र रमाइलोमा ठूलो धनराशी खर्च भइरहेको पाइन्छ। त्यसैले कतिले मेला महोत्सवलाई विकृतिको रुपमा चित्रित गरेको पाइन्छ।

चाहे मेला महोत्सव होउन् वा धार्मिक महायज्ञ होउन्, यस्ता कार्यक्रम गर्दा आर्थिक पारदर्शिता कायम राख्न सक्नुपर्दछ। आर्थिक चलखेल रोक्न बलियो र भरपर्दो संयन्त्र बनाउन जरुरी हुन्छ। अनावश्यक र फजुल खर्च रोक्न सकिएन भने दाताहरुले दिएको रकमको उचित सदुपयोग हुन सक्दैन। राज्यस्तरबाट गरिनुपर्ने कामहरु जनस्तरबाट हुनु आफैमा महत्वपूर्ण र प्रेरणादायी हुन्छ। त्यसैले यस्ता काममा राज्यले साझेदारी गर्न सक्नुपर्ने हुन्छ। मानौं जनस्तरबाट एक करोडको स्रोत जुट्छ भने सरकारले त्यत्तिकै रकम अनुदान उपलब्ध गराए महत्वपूर्ण काम हुन सक्छन्। अहिले देखापरेको शैक्षिक जागरणको बलमा शिक्षालाई व्यावसायिक, वैज्ञानिक, प्रविधिमैत्री बनाउन राज्यले नै अग्रसरता लिन सक्नुपर्छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top