Free songs
Home / सम्पादकीय / पत्रकारितामा शुद्धिकरण

पत्रकारितामा शुद्धिकरण

सधैं अरुका विषयमा मात्र सूचना प्रवाह गर्ने पत्रकारिता क्षेत्रमा कहिलेकाहीं आफ्नै विषय समाचार बन्ने गर्दछन्। सबैभन्दा अप्ठ्यारो र संवेदनशील विषय हो– अरुका बारेमा लेख्नु। खासगरी पत्रकार, लेखक र साहित्यकार यस्तो चुनौतीपूर्ण अवस्थामा हुन्छन्– उनीहरुले अरुका बारेमा लेख्दा बारम्बार आफूप्रतिको सजगता र संवेदनशीलता ख्याल गर्नुपर्छ। भनिन्छ, कसैप्रति औंला ठड्याइन्छ भने पाँचमध्ये चार औंला आफैतिर फर्केका हुन्छन्। त्यसैले आफू शुद्ध नभएर अरुका शुद्धताका कुरा गर्नु बकवास मात्रै हुनजान्छ। लेखाइ र गराइमा एकरुपता आएन भने कुनै पनि पेशा दिगो र प्रभावकारी हुन सक्दैन। त्यसमा अझ हरपल जनचासोका विषय खोजी र प्रवाह गर्ने संवेदनशील क्षेत्र पत्रकारिता कर्ममा लागेकाहरु चुके भने त्यसको परिणाम निकै डरलाग्दो हुन्छ। त्यस्तो हुन नदिन पत्रकारिता क्षेत्रमा बारम्बार शुद्धिकरण र आत्मसमीक्षाको विषय उठिरहन्छ र उठिरहनु पनि पर्छ।

पत्रकारिता शुद्ध रहनुपर्छ भन्ने मान्यताका साथ स्वयं पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ स्थापनाकालदेखि अहिलेसम्म लागिरहेको छ। पत्रकारितालाई मर्यादित र व्यवस्थित गर्नका लागि सरकारले सम्मानित संस्थाको रुपमा प्रेस काउन्सिल नेपाल स्थापना गरी लगानीसमेत गरिरहेको छ। यी दुबै संस्था मिलेर पत्रकार आचारसंहिता बनाएका छन्। पत्रकार आचारसंहिता यस्तो कानुन हो, जो पत्रकार आफैले तयार पारेका हुन्। पत्रकारिता अन्य क्षेत्रभन्दा संवेदनशील तथा बौद्धिक क्षेत्र भएको र यसमा सोझै सरकारले हस्तक्षेप गर्दा प्रेस स्वतन्त्रता हनन् हुने भएकाले पत्रकार आफैले यी काम गर्छौैं र यी काम गर्दैनौं भनेर लिखितरुपमा गरेको कबोल हो– पत्रकार आचारसंहिता। यसमा प्रष्टरुपमा पत्रकारले गर्न हुने र गर्न नहुने काम उल्लेख छ। तर, बेला–बेलामा पत्रकार आचारसंहिताको उल्लंघन गर्ने मात्र होइन धज्जी उडाउने कामसमेत हुने गरेको छ, यस्तो प्रवृत्तिमा लगाम लगाउन पत्रकारिता क्षेत्रमा बारम्बार शुद्धिकरणको बहस उठ्ने गरेको छ।

देशभरिकै पत्रकारिताको अभ्यासमा दाङको पत्रकारितामा मर्यादाका हिसाबले दुर्बलभन्दा सबल पक्ष नै बढी रहेको यथार्थ हो। तर, कहिलेकाहीं केही यस्ता गलत प्रवृत्ति पनि देखिन्छन्, जसको नियन्त्रणबिना दाङको मर्यादित पत्रकारिताको विरासत कायम राख्न मुस्किल पर्दछ।

अहिले भर्खरै नेपाल पत्रकार महासंघ दाङ शाखाले एउटा छानबिन समिति नै बनाएर प्रतिवेदन सार्वजनिक गरेको छ र पत्रकार आचारसंहिताविपरीतका क्रियाकलाप रोक्न केही कदम चालेको छ। विगतमा पनि केही यस्ता घटना सार्वजनिक भएपछि महासंघले यसरी नै छानबिन समिति बनाएर छानबिन गरी गलत प्रवृत्ति रोक्ने प्रयत्न गर्दै आएको छ। त्यसो त पत्रकार महासंघले नै हरेक वर्ष स्थापना दिवसमा ठूलो संख्यामा पत्रकारलाई पुरस्कृत पनि गर्दै आएको छ। यो किन पनि आवश्यक छ भने कुनै पनि क्षेत्रमा दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्छ। गल्ती गर्नेमाथि दण्ड र राम्रो गर्नेलाई पुरस्कृत गर्नुको अर्थ गलत प्रवृत्तिलाई निरुत्साहित र राम्रो प्रवृत्तिलाई प्रोत्साहित गर्नु हो। को पुरस्कृत भयो वा को दण्डित भयो, पात्रको सवाल महत्वपूर्ण होइन, महत्वपूर्ण सवाल प्रवृत्तिको हो। कुनै कालखण्डमा दण्डित भएकाहरु आफूलाई सच्याएर मर्यादितरुपमा पेशामा रहन खोजे भने यसबाट महत्वपूर्ण रुपान्तरण सम्भव छ, अन्यथा पात्रहरु आउँछन्, जान्छन् तर प्रवृत्तिगतरुपमा शुद्धिकरण र रुपान्तरणमा नै जोड दिनुपर्छ।

पत्रकारितासँगै समाजका अन्य क्षेत्र पनि यसमा सचेत हुनुपर्छ। पत्रकारिताले विकृति विसंगतिमाथि प्रहार गर्छ, यो उसको धर्म हो तर पत्रकारिता वा पत्रकारका कारण समुदायका कुनै निर्दोष व्यक्तिहरु पीडित हुने अवस्था आउनुहुँदैन। अन्य वस्तु वा सेवाको जस्तै पत्रकारिताको उत्पादनबारे पनि समाज खुलेरै बोल्नसक्ने हुनुपर्छ। पत्रकारिता आवाजविहीनको आवाज हो, बोल्न नसक्नेहरुको बोली हो, यो कुनै पनि अवस्थामा समाजभन्दा बाहिर हुनसक्दैन। पत्रकारिता वा पत्रकारसँग समाज डराउन होइन आशा र भरोसा गर्ने बन्नुपर्छ। गलत कामको पर्दाफास र सही कदमको साथ समर्थन यसको मुख्य अभिभारा हो। पत्रकारिताले समाजलाई सुसूचित गर्ने काम त गर्छ नै, कतै पत्रकारितामा समस्या आउन थाल्यो भने समाजले पनि तथ्यमा आधारित सही प्रश्न गर्न सक्नुपर्छ ता कि यसको शुद्धीकरणमा सहयोग पुगोस्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top