Free songs
Home / सम्पादकीय / शैक्षिक विकासमा महायज्ञ

शैक्षिक विकासमा महायज्ञ

सामाजिक विकासका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना हुँदै आएका छन् । विद्यालय र अस्पताल स्थापना गर्न, बाटो खन्न र पुल बनाउन, मन्दिर तथा विभिन्न आश्रमहरु बनाउन आर्थिक स्रोत जुटाउन महायज्ञलाई राम्रो विकल्पको रुपमा उपयोग गरिँदै आएको पाइन्छ । खासगरी सामाजिक विकासका विभिन्न पक्षमा नागरिक तहको सहयोग जुटाउन यस्ता महायज्ञहरु सहयोगी बनेका छन् । सरकारले प्राथमिकताका साथ निर्माण गर्नुपर्ने विद्यालय, अस्पतालहरु समेत नागरिकहरुले महायज्ञ आयोजना गरेर उठेको दानबाट निर्माण भएका छन् । महायज्ञका माध्यमबाट विकासमा नागरिकको अग्रसरता र साझेदारी बढेका दृष्टान्त मुलुकभर धेरै छन् । दाङमा पनि शैक्षिक विकास, सडक तथा धार्मिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर महायज्ञ आयोजना हुँदै आएका छन् । यतिबेला घोराही उपमहानगरपालिकास्थित बाराहक्षेत्र माध्यमिक विद्यालय सेवारको शैक्षिक विकासका लागि महायज्ञ चलिरहेको छ ।

यसअघि पनि जिल्लाको पुरानो विद्यालय पद्मोदय, दूधरासस्थित जनकल्याण उमाविलगायतले विद्यालयको पूर्वाधार निर्माण र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ आयोजना गरेर आर्थिक स्रोत जुटाउने काम गरेका थिए । महायज्ञ लगाएर आर्थिक स्रोत जुटाउँदै शैक्षिक उन्नयन र सामाजिक विकासमा नागरिक तहको यो अग्रसरता प्रशंसनीय नै छ ।

हिजोदेखि घोराही उपमहानगरपालिका–१३ स्थित बाराह क्षेत्र माध्यमिक विद्यालय सेवारको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षाका लागि माघ ११ गतेसम्म सञ्चालन हुने गरी श्रीमद्भागवत धन धान्याचल विराट ज्ञान महायज्ञ शुरु भएको छ । सामुदायिक विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारका निम्ति आर्थिक स्रोत जुटाउने महायज्ञको लक्ष छ । घोराही उपमहानगरपालिकाको नजिक तर सामाजिक र शैक्षिकरुपमा पछाडि परेको ठाउँ हो यो । त्यहाँ बसोवास गर्ने अति निम्न र सामान्य वर्गका परिवारका बालबालिकाहरु त्यो विद्यालयमा पढ्छन् । पुरानो विद्यालय भए पनि विद्यालय भवनको अवस्था अति नै जीर्ण छ । अभिभावकहरु आफ्ना बालबालिकाहरु विद्यालयमा पठाउन डराउनुपर्ने अवस्था छ । विद्यालयको दयनीय अवस्था सुधारेर बालबालिकाहरुलाई सुरक्षित भएर पढ्न मिल्ने वातावरण सिर्जना गर्न भवन निर्माण गर्ने महायज्ञको लक्ष रहेको बताइएको छ । त्यस्तै त्यहाँ प्लस टु कक्षा सञ्चालन गर्ने र स्थानीय स्रोतमा आधारित प्राविधिक शिक्षा सञ्चालन गर्ने महायज्ञ आयोजकले बताएका छन् । महायज्ञबाट जुटेको आर्थिक स्रोतले विद्यालयको पूर्वाधार निर्माण गर्न र प्राविधिक शिक्षा सञ्चालन गर्ने मार्गप्रशस्त गर्न सकोस् ।

पछिल्लो समय प्राविधिक शिक्षाप्रतिको आकर्षण बढ्दो छ । बढ्दो शैक्षिक बेरोजगारीले सबैलाई नराम्रोसँग झस्काइरहेको छ । समुदायलाई स्वरोजगारमुखी बनाउन पनि प्राविधिक शिक्षाको महत्व बढ्दै गएको छ । सेवार क्षेत्रका युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्दै उनीहरु स्वावलम्बी र स्वरोजगार भएर भोलि आत्मसम्मानका साथ बाँच्ने वातावरण बनाउन सके मात्र महायज्ञको लक्ष पूरा हुनेछ । यो लक्ष पूरा गर्ने दायित्व महायज्ञ आयोजकको मात्र होइन । स्थानीयहरुले आफ्नो विद्यालयको जीर्ण भवन बनाउन, प्राविधिक शिक्षा सञ्चालन गर्न आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गर्ने पहल गरेर यसको शुरुवात गरेका छन् । यसले राज्य पक्षलाई पनि एउटा नैतिक दबाब अनुभूति हुनुपर्छ । स्थानीयहरुले थालेको अभियानमा राज्यका तर्फबाट अभिभावकीय भूमिका निर्वाह गर्ने हो भने बाराहक्षेत्र माविको पूर्वाधार निर्माण तथा प्राविधिक शिक्षा सञ्चालनको उद्देश्य सहजै पूरा हुनेछ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top