Free songs
Home / सम्पादकीय / माघीको शुभकामना

माघीको शुभकामना

आज माघ १ अर्थात माघी पर्व । आजदेखि सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले आजको दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले बिस्तारै दिन लामो र रात छोटो हुँदै जाने प्रक्रिया शुरु हुन्छ । यो दिनलाई नेपालमा धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा मनाउने चलन छ । थारु समुदायमा यसलाई माघीको रुपमा मनाउने गरिन्छ भने मगर समुदायले माघे संक्रान्तिको रुपमा यो पर्व मनाउने गर्दछन् । अन्य जातजातिले आ–आफ्नो ढंगले यो पर्व मनाउने गरेका छन् । यो पर्व अलि बढी जनजातिसँग जोडिएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । त्यसैले पनि यो पर्वको बढी नै महत्व रहेको छ । तराईमा बस्ने थारुहरुले माघी पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन् । माघ १ लाई उनीहरुले नयाँ वर्षको रुपमा मनाउँछन् ।

मगर समुदायले मगरहरुको कला, संस्कृति, भेषभूषा संरक्षण तथा पुख्र्योली परम्पराको प्रबद्र्धन गर्ने कार्यक्रम गरेर यो पर्व मनाउने गरेको छ । धार्मिक सांस्कृतिक मात्र होइन, वैज्ञानिकरुपमा पनि यो पर्व महत्वपूर्ण मानिन्छ । चिसोबाट बचाउन र शरीरमा आवश्यक ऊर्जा पैदा गर्न तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पूरा गर्छ । त्यस्तै जाडोसँग लड्ने क्षमताको विकास गर्न तिलको लड्डुलगायत मिठो परिकार बनाएर खाने गरिन्छ । सामाजिक दृष्टिकोणले पनि यो पर्वलाई मौलिक मान्न सकिन्छ । समाज मिलेर बस्ने, आपसमा बाँडेर खाने, हुनेले नहुनेलाई दान गर्ने, अर्काको घरमा पाकेको मीठो मसिनो कुरा उसकै घरमा पुगेर खाने आदि जुन प्रचलन छ, यसले नेपाली समाजको ऐतिहासिक र मौलिकपन उजागर गर्दछ ।

यसरी धार्मिक र सांस्कृतिकरुपमा थारु, मगरलगायत आदिवासी जनजातिले मुख्य पर्वको रुपमा मनाउने र उत्पादनका दृष्टिले पुर्खाले खाने गरेको कन्दमूल र घरेलु परिकारमा जोड दिने भएकाले यो पर्व नेपाली समाजको निकै पुरानो मौलिक पर्व हो भन्न सकिन्छ । त्यसो त वैज्ञानिकरुपमा मौसम परिवर्तन हुने समयलाई अनुकूल बनाउने र सामाजिक दृष्टिकोणले आपसी सौहार्दताको विकास गर्ने जुन अभिप्राय यसमा देखिन्छ, यसले पनि प्राकृतिक र सामाजिक प्रतिकूलतालाई अनुकूलतामा बदल्न पुर्खाले अँगालेको परम्पराको रुपमा लिन सकिन्छ । बदलिंदो समाजसँगै चाडपर्व मनाउने शैली पनि बदलिएको छ । नेपालमा अब कुनै पनि चाडपर्व समुदाय विशेषका रहेनन्, यी सबै राष्ट्रिय पर्व बनेका छन्, यो महत्वपूर्ण परिवर्तन हो । एकातिर राजनीतिक परिवर्तनसँगै सबै जातजातिका संस्कार संस्कृतिले राष्ट्रिय संस्कृतिको मान्यता पाएका छन् भने अर्कोतिर समाजको आधुनिकीकरणसँगै हरेकले हरेकका चाडपर्व मनाउन थालिएको छ ।

नेपालको संविधान २०७२ ले सबै भाषा संस्कृतिलाई राष्ट्रिय भाषा संस्कृतिको मान्यता दिएको छ । त्यसो त संघीयताको अभ्याससँगै सार्वजनिक विदा नै दिएर चाडपर्व मनाउने प्रचलनको पनि विकास भएको छ । यो वर्ष प्रदेश नम्बर ५ ले दुई दिन सार्वजनिक विदा दिएको छ भने कर्णाली प्रदेशले एक दिन विदा दिएको छ । अन्य जातजातिका चाडपर्वमा पनि प्रदेशविशेष त्यसरी नै विदा दिन थालिएको छ । यो नयाँ र राम्रो अभ्यास पनि हो । यसले सबै जातजातिका भाषा संस्कृतिलाई समान हैसियतमा मान्यता दिन मद्दत पु¥याउँछ भने एकले अर्को जाति समुदायको पर्व मनाएर सांस्कृतिक अन्तरघुलनको अभ्यास पनि बढाउँछ । सामाजिक विकासका दृष्टिले पनि विस्तारै माघीको पहिचान फेरिदै गएको छ । हिजो थारु समुदायमा कमैया कम्लरीको नवीकरणको दिनको रुपमा हेरिने माघी अहिले पहिचान र गौरवको पर्वका रुपमा स्थापित भइरहेको छ । नेपालबाट कमैया कम्लरीप्रथाको अन्त्य हुनु सामाजिक विकासका दृष्टिले महत्वपूर्ण नै मान्नुपर्छ । यो पर्व विशेषतः जनजाति समुदायको भए पनि सबै समुदायले मनाउने गरिन्छ । हरेक पर्वमा जस्तै यो पर्वमा पनि धेरै राम्रा पक्ष हँुदाहँुदै केही नराम्रा पक्ष पनि देखिन्छन् । मौलिकताको संरक्षण गर्दै विकृति हटाउँदै हरेक समुदायलाई आपसमा र सिंगो समाजसँग जोड्न यस्ता चाडपर्व सफल हुनुपर्छ, माघीको शुभकामना ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top