Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्रहरीको जवाफी कारवाहीमा एकको मृत्यु : मारिने ‘अपहरणकारी र फिरौतीवाला’

प्रहरीको जवाफी कारवाहीमा एकको मृत्यु : मारिने ‘अपहरणकारी र फिरौतीवाला’

यमलाल भुसाल

बुटवल । रुपन्देहीमा प्रहरीको गोलीबाट मृत्यु भएका व्यक्ति सिद्धार्थ नगरपालिका–६ गल्लामण्डीका ३५ वर्षीय केदार साहनी भएको पुष्टि भएको छ ।

विसं २०७१ साल असोजको ११ गते भैरहवाका आकाश गुरुङलाई अपहरण गरी नवलपरासीको वर्दघाटमा हत्या गरी फरार रहेका व्यक्ति नै केदार साहनी भएको प्रहरीले जनाएको छ । प्रहरीको मोस्ट वान्टेण्ट सूचीमा रहेका साहनी प्रहरीको जवाफी कारवाहीमा मारिएका छन् ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरमा तस्करी रोक्न भन्दै खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार गरेपछि जवाफी कारवाहीमा साहनीको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ह्दय थापाले जानकारी दिनुभयो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३५ वर्षका साहनीले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथि जवाफी कारवाही गरिएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

प्रहरीको जवाफी कारवाहीमा घाइते भएका उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ । मृतकको १७ घण्टापछि मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार साहनीले चलाएको गोली लागि प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनको बाया पाखुरामा गोली लागेको छ । रुपन्देहीमा तस्करी मौलाइरहेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि प्रहरीले सर्च अपरेसन तथा जिल्लाका विभिन्न नाकाहरुमा आफ्नो निगरानी बढाएको थियो । एसपी थापाका अनुसार तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीको एक टोली रुपन्देहीको धकधई र अर्काे टोली शंकरपुरतर्फ खटाइएकोमा शंकरपुरमा सो घटना भएको हो ।

रातिको समयमा हतियारसहित हिड्नेहरु अपराधी वा तस्करीको सेटिङ गराउदै हिडने हुन सक्ने प्रहरीले आशंका गरेको छ । शनिवार राति पौने १२ बजेको समयमा मोटरसाइकलमा आएका दुई जनामध्ये एकजना भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top