Free songs
Home / अन्तर्वार्ता / माक्र्स र बुद्धलाई जोड्ने काम अधुरै छ

माक्र्स र बुद्धलाई जोड्ने काम अधुरै छ

 

नारायणप्रसाद शर्मा, वरिष्ठ साहित्यकार

वि.स. १९८८ सालमा दाङमा जन्मनुभएका वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माले दाङको पत्रकारिता र साहित्यको उन्नयनमा उल्लेखनीय योगदान पु¥याउदै आउनुभएको छ । उहा दाङको सबैभन्दा पुरानो साहित्यिक संस्था राप्ती साहित्य परिषद्, नेपाल पत्रकार महासंघ दाङको संस्थापक अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिवसमेत हुनुहुन्छ । २०६३ सालमा सांसद र २०६५ सालमा प्रेस काउन्सिल नेपालको अध्यक्ष हुनुभएका शर्मा पत्रकारिता, राजनीति र साहित्य यात्रालाई निरन्तरता दिदै आउनुभएको छ । उमेरले ८८ वर्ष पुग्नुभएका शर्मा अहिले पनि सक्रिय जीवन बाँच्दै आउनुभएको छ भने लेखनमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । हालसम्म उहाँका आत्मकथा, काव्य, कवितालगायत विभिन्न विधामा गरी १० वटा कृति प्रकाशित छन् । यस साता हामीले उहाँको राजनीति, पत्रकारिता र साहित्यिक यात्रासम्बन्धी कुराकानी गरेका छौं । आभास बुढाथोकीले उहाँसँग गर्नुभएको कुराकानीको सारसंक्ष्ोप प्रस्तुत यहाँ प्रस्तुत गरिएको छ ।     –सम्पादक

कस्ता पुस्तकहरु पढ्दै हुनुहुन्छ ?

धन्यवाद आभाषजी, तपाइँले पढ्ने विषयबाट उठान गर्नुभयो । सबभन्दा अप्ठेरो पढाइ त यो जिन्दगी रहेछ । अठासी वर्ष पुगेछ यो जिन्दगी पढ्न लागेको । पढ्न जाने हरेक मान्छे एउटा बृहत् पुस्तक हो । तपाइँले छापिएका पुस्तकको कुरा गर्नुभो । भर्खरै दुर्गा सुवेदीको पुस्तक विमान विद्रोह पढी भ्याएँ । पढेर म रोमाञ्चित भएँ, खुशी भएँ । मान्छे जस्ता मान्छेको बीउ अझै बाँकी रहेछ ।

कहिलेदेखि दैनिकी लेख्न शुरु गर्नुभयो ? कति सुरक्षित छन् ?

दैनिकी लेख्न थालेको त दुई हजार पाँच सालदेखि हो । दश सालदेखि आजसम्मका डायरी भने अझै मसँग सुरक्षित छन् । मैले बेला–बेला ती सबै घटनाको चर्चा गरिसकेको छु र लेखिसकेको छु । तर ती डायरीहरु आफ्नै गुरु ठानेर फाल्न सकेको छैन । अझै पनि ती मेरा प्रेरणाका स्रोत हुन् ।

लेखनमा उस्तै सक्रिय हुनुहुन्छ । यो ऊर्जा कहाँबाट आउँछ ?

त्यति सक्रिय भन्न नमिल्ला कि ? आजभोलि हप्तामा एउटा लेख लेखेर युगबोधलाई दिन्छु । अपवादमा कहिलेकाहीं फुटकर लेख्नुपर्ने हुन्छ साथीहरुको आग्रहमा । कविता चाहिँ छुट्टै सौखको विषय जस्तो छ मन लाग्दा लेख्छु । उहिले भने आवश्यकताले लेखाउँथ्यो । प्रष्ट लक्ष र दृढ इच्छाशक्ति भयो भने आफै ऊर्जा आउँछ, कतैबाट खोजी ल्याउनु पर्दैन । यो आन्तरिक शक्ति हो ।

जीवनको लामो कालखण्डसम्म के कस्ता उतारचढाव भोग्नुभयो ?

त्यो ठ्याक्कै भन्न सक्ने स्थिति छैन । कसरी भनुँ यो प्रश्नको उत्तर लामो पनि हुन सक्छ । उतार चढाव त कति हो कति । कतिले आँखाको कसिंगर जस्तो मानेर तल खसाल्न बल गरे । अनेक दुःख दिए । जेलनेल र अनेक शारीरिक यन्त्रणा दिए । कतिले सम्मान दिए । पुरस्कार दिए । फूलमाला दिए । दोसल्ला दिए । स्नेह दिए ।

अहिलेको राजनीतिलाई कसरी मूूल्यांकन गर्नुहुन्छ ?

मुलुकको राजनीतिक नेतृत्व बृहत् विषय भयो । यहाँ सेवा कम सत्तास्वार्थ बढी देखें । असल नेता छँदै छैनन्, थिएनन् भन्न सक्दैन । म आफै राजनीतिमा होमिएको मान्छे परें । ०७ साल देखिको राजनीतिक चेतना अहिलेसम्म कायम छ । अझ झांगिएको छ । अनुभवले धेरै सिकाएको छ । युवा उत्साह पार्टी जीवनमा लगाइयो । लक्षचाहिँ जनजीवन सुधार्नु थियो । मैले सिद्धान्त र व्यवहारलाई सधै जोडेर लगें । कम्युनिष्ट पार्टीसित आकर्षित भएदेखि नै गाउँ–गाउँमा शिक्षा प्रचार, जातपात, छुवाछुत, महिला शोषण र किसानमाथि सामन्ती शोषणविरुद्ध लागियो । जनताका सानातिना पीरमर्का हटाउनदेखि ठूला–ठूला संघर्षमा पनि लागियो ।

नेकपा दाङको संस्थापक सचिव हुनुहुन्छ । त्यसको बारेमा संक्षेपमा भनिदिनुस् न ?

२०१० सालको कात्र्तिक महिनामा दाङमा गुप्तरुपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । ६/७ वर्षसम्म पार्टीको सेक्रेटरी भएर काम गरियो । निकै संघर्षमा जीवन होमियो । तर तिनताकको सामाजिक र राजनीतिक आनन्द बडो मजाको थियो । देशको लागि केही गर्दैछु भन्ने पवित्र भावना थियो । अहिलेको राजनीति बढी विभाजित छ । अनेकन कम्युनिष्ट पार्टीहरु जन्मिए । एउटै कम्युनिष्ट पार्टी हुँदा काम गरेको म जस्तालाई छुट्याउन अलमल पर्छ । अब त सेवा भन्दा स्वार्थ चर्को छ । गुटबन्दी देखिन्छ । उहिले पनि कमी कमजोरी थिए, तर आजको जस्तो हैन । कतिलाई समग्र राजनीति व्यापार जस्तो भएको छ । सर्वहारा चरित्र भेट्न गाह्रो हुन्छ । उहिले कांग्रेस र कम्युनिष्ट व्यवहारबाट छुटिन्थ्यो अब त चिन्न गाह्रो छ ।

अहिले साहित्यकारहरुको भूमिका कस्तो देख्नुहुन्छ ?

कुन साहित्यको कुरा गरुँ ? समाज वर्गमा बाँडिएको छ । हुने खाने सम्पन्नहरु पनि साहित्य रचना गर्छन् । त्यहाँ आ–आफ्नै वर्गीय छायाँ हुन्छ । अर्कातिर गरिव किसान मजदूरहरुको वर्ग छ । तिनले पनि कला साहित्य र संगीतमार्फत् आफ्ना पीडा र छटपटी पोख्छन् ।
भाग्यको खेल, अन्धविश्वास, अवैज्ञानिक चिन्तन, रुढीवाद र परम्परावादको पछि लाग्ने एक थरि लेखक छन् । वैज्ञानिक चिन्तन राख्ने, लोकतन्त्र र समाजवादको लागि कलम चलाउने अर्का थरि ।

कविता, कथा, नाटक आदि लेख्दै जनअधिकारका निम्ति लडेका जेल नेलको कष्टसहित अनेक यन्त्रणा भोगेका साहित्यकार पनि देखिए । सत्ताको भत्तामा रमाएर रोमान्स गर्ने कवि, लेखक पनि देखिए । कति त छद्मभेषी र अवसरवादी बने । पुराना नयाँ सबै कोही कस्तै, कोही कस्तै । जनवादी र जनविरोधी दुईथरी पाइए । त्यसैले साहित्यकारको भूमिका राम्रो पनि नराम्रो पनि दुबै छ ।

प्रगतिशील साहित्यको स्तर कस्तो पाउनुभएको छ ?

प्रगतिशील साहित्यकार त्यो हो, जसले जनतासँग गाँसिएर साहित्य सिर्जना गर्दै अग्रगामी चिन्तन राख्छ । दाङमा प्रजातन्त्रवादी धारामा बगेको साहित्य पनि छ । अर्को प्रगतिवादी साहित्यिक धारा पनि छ । यसले माक्र्सवाद अर्थात् द्वन्द्वात्मक भौतिक वादमा विश्वास राखेर साहित्य सिर्जना गर्छ ।

स्तरीय हिसाबले यहाँ इच्छुक जस्ता र नेत्रलाल अभागी जस्ता कवि पनि जन्मेका थिए विचार र कला दुबै दृष्टिले इच्छुक अगाडि छन् । दोस्रोमा अभागी ।

साहित्यकारहरुको उद्देश्य लोकगणतन्त्रलाई सफल पार्न तदनुकुल संस्कार जगाउने, निराशा कुण्ठा र पलायन पालेर देशलाई र मानव जातिलाई केही दिन सकिन्न भन्ने चेतना जगाउने नै हो ।

पत्रकारिता, साहित्य र राजनीतिमा के फरक रहेछ ?

पत्रकारिता, साहित्य र राजनीति एक अर्काका अविच्छिन्न पूरक हुन् । मेरो व्यक्तिगत अनुभवमा कविता लेख्दा लेख्दै राजनीतितिर लहसिएछु । राजनीति गर्दा मिडिया नभई नहुने रहेछ । यसरी पत्रकारिता पनि रुचि र आवश्यक भयो । प्रत्यक्ष राजनीतिबाट अलिक पर बसेर पत्रकारितातिर र साहित्यतिर घनीभूत भएर लागेको पनि धेरै वर्ष भइसक्यो । एउटा बिर्सने नहुने कुरा के हो भने जीवन एउटा समुद्री यात्रा जस्तो हो । किनारामा बसेर मीठामीठा सन्देश एवं उपदेश दिनेहरु भन्दा समुद्री भुमरी पार गर्दै भयानक आपत् विपत् टार्दै अगाडि बढ्ने बहादुरहरु भिन्नै कित्ताका हुन् । सबैलाई एउटै टोकरीमा हालेर हेर्न मिल्दैन ।

अहिलेको पत्रकारिता कस्तो लाग्छ ?

अहिले विश्वमा मिडियाको भूमिका (रोल) प्रथम दर्जामा आइपुगेको छ । पश्चिमी जगतका कतिपय विद्वानहरुले अबको लडाइँ कलमबाट चल्नेछ भन्न थालेका छन् । पुरानो जुग श्रमप्रधान थियो । त्यसपछि शक्तिप्रधान जुग आयो । अझै पनि शक्तिको बलमा राज्य चलेका छन् । साम्राज्यवादी युगको समाप्ति हुनु नै बुद्धिको युग शुरु हुनु हो । त्यो भनेको पत्रकारिता हो, मिडिया हो ।

जहाँसम्म अहिलेको मिडिया कस्तो छ भन्ने कुरामा यसका सकारात्मक पक्ष थुप्रै भए पनि नकारात्मक पक्ष पनि छन् । बिकाउ पत्रकारिता पनि चलेकै छ । आत्मोत्सर्ग गरेर पनि सत्यको उद्घाटन गर्ने पत्रकारहरु पनि छन् । युग हाँक्ने पत्रकार पनि छन् । युगको पछि–पछि लाग्ने पनि छन् । युग फर्काउन खोज्ने पत्रकार पनि छन् । समाजको प्रतिविम्ब पत्रकारितामा देखिनु स्वाभाविक हो । यस प्रकारको द्वन्द्व चलिरहन्छ ।

राजनीति, पत्रकारिता र साहित्यको संगठनात्मक रुप दिने तपाइँ हुनुहुन्छ । यी तीनवटामध्ये कुनै एउटा रोज्नुप¥यो भने ?

दाङको मात्र कुरा गर्दा नियमित पत्रकारिताको थालनी दाङमा नारायणप्रसाद शर्माको टिमले ग¥यो भन्दा अत्युक्ति नहोला । त्यस्तै जनस्तरमा प्रेसको स्थापना गर्ने काम पनि हामीबाटै भएको हो । त्यस्तै वामपन्थी राजनीतिलाई स्थापित गर्ने प्रारम्भिक काम म र मजस्ता अन्य साथीहरुबाट भएकै हो । यी तीनै विषय यसरी गाँसिएका छन् । यिनको भूमिका एक अर्काको पूरक र अन्योन्याश्रित छ जस्तो लाग्छ ।

देशका ठूला आन्दोलनमा सहभागी हुनुभयो । केही आफै नेतृत्व पनि गर्नुभयो । थुप्रै परिवर्तन देख्नुभयो । जीवनमा आफूले गर्न चाहेको तर अधुरो के छ जस्तो लाग्छ ?

२००७ सालदेखि सामाजिक, राजनीतिक, सांस्कृतिक भुमरीमा आकण्ठ डुबें । कुनै पछुतो छैन । कसैको एक पैसामा आँखा लागेन । थुप्रै परिवर्तन देखें । तर असल मान्छे तयार गर्न गाह्रो रहेछ । असल मान्छेको संख्या थोरै छ । त्यसैमा चित्त दुख्छ ।

बुढेसकालमा आफू जन्मेको गाउँमा अक्षरधाम खोलेर बसें । त्यसलाई चलाउन सकिन । त्यसैमा पछुतो छ । जीवनको उत्तराद्र्धमा आइपुग्दा नयाँ अनुभूति भयो । हाम्रो सोचाइ र पढाइ नै उल्टो उल्टो जस्तो लाग्यो । धेरै मान्छे भ्रममा बाँचेका छन् । सत्यको पछि लाग्न सहज नहुने रहेछ । यस्तो परिस्थितिमा माक्र्स र बुद्धलाई जोडेर नयाँ दुनियाँ बन्छ भन्ने त लागेकै छ । सके त्यसैमा काम गर्ने हो ।

यो अलिक विरोधाभाषी र असम्भव जस्तो लाग्दैन ?

रौंचिरा तर्क मात्रै गर्ने हो भने जे पनि असम्भव जस्तो लाग्न सक्छ । जीवनलाई साक्षी राखेर कुरा गर्ने हो भने माक्र्स र बुद्धले दबेकालाई माथि उठाउने काम गरेका छन् । दुबैले अन्धविश्वास र अवैज्ञानिक चिन्तन हटाएर शोषित उत्पीडित जनताका निमित्त समग्र जीवन बिताए । माक्र्सको साम्यवाद र बुद्धको समानतावादमा क्यै फरक छैन । माक्र्सको समय पूँजीवादको विकास र साम्राज्यवादको प्रारम्भिक काल हो भने बुद्धको समय ब्राह्मण र क्षेत्रीहरुको प्रमुख र बाँकी सबै दबेकाको समय थियो ।

अब एक्काइसौं शताब्दीमा पारमाणविक युद्धको त्रासबाट जोगिन शान्ति, अहिंसा र करुणाको बर्चस्व स्थापित हुनुपर्छ । यसरी हेर्दा बुद्ध र माक्र्सको अन्तिम लक्ष एउटै हो ।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top