Free songs
Home / फिचर समाचार / मगर वस्तीमा ‘नचारु नाच’ को रौनक

मगर वस्तीमा ‘नचारु नाच’ को रौनक

 

नरेन्द्र केसी

रुकुम पूर्व तकसेराका ८७ वर्षीय रतबहादुर बुढा दाङको घोराही उपमहानगरपालिका–१८ स्थित ढोडेनीमा निकै प्रशन्न मुद्रामा भेटिनुभयो । कारण थियो– मगर थातथलो रोल्पा रुकुममा नाचिने मगर समुदायको स्थापित र प्रख्यात ‘नचारु नाच’ दाङमै आएको थियो । ‘सानैदेखि यो नाच नाच्न सिकियो’– लुकुम्याल समाजको थलोमा नचारु नाच हेर्दै बुढाले भन्नुभयो– ‘पहाडमा यो नाच धेरै नाचियो र नचाइयो । तर अहिले लोप हुन थालेको नाच हामीलाई खोज्दै दाङमै आएपछि कति खुशी लागेको छ, कति !’

मगर समुदायको थातथलोमा लगातार छ महिना नाचिन्छ यो नाच । साढे चार महिना गाउँमै नाचिन्छ भने झण्डै दुई महिना गाउँ–गाउँमा घुमेर नाचिन्छ । फरक भेषभूषा पहिरिएर सदियौं वर्षदेखि यो नाच नाचिदै आएको भए पनि पछिल्ला वर्षहरुमा यो हराउन थालेको छ । रुकुम पूर्वको भूमे गाउँपािलका–३ क्याङ्सीमा ३३ वर्षपछि यो नाचले पुनर्जीवन पाएको छ । तिहारमा देउसी भैलोजस्तै गाउँ–गाउँ पुगेर नाचिने यो नाच यो वर्ष दाङमा पनि आयो । दाङमा मगर समुदायको बसोबास बढ्दै गएको भए पनि नचारु नाच ल्याइएको यो पहिलोपटक हो । पहिलोपटक दाङ झरेको नाचलाई ढोडेनी, फुर्सेखालीलगायत विभिन्न मगर वस्तीमा तामझामका साथ स्वागत गरियो ।

मगर समुदायको पहिचानसँग जोडिएको यो नाच ओझेलमा पर्न थालेपछि ‘जनजाति संस्कृति तथा परिवर्तन केन्द्र’ नाउँको संस्था बनाएर नाचलाई पुनर्जीवन दिइएको संस्थाका अध्यक्ष भानदेव रोकाले बताउनुभयो । यो नाच अन्य नाचजस्तो सामान्य नभएर फौजी कलामा आधारित रहेको र २२ स्टेपसम्म नियमबद्ध नाच्नुपर्ने भएकाले यसका लागि निकै ठूलो तालिमको आवश्यकता पर्ने उहाँले बताउनुभयो ।
यो नाच दिउँसो र राति फरक–फरक तरिकाले नाचिन्छ । ‘दिउँसो महादेवको चाल र राति पार्वतीको चालमा नाच्नुपर्छ’– सांस्कृतिक टोलीका गुरु ५३ वर्षीय पुनबहादुर रोकाले भन्नुभयो– ‘दिनमा चौबन्दी, चोल्ना, लजौटी, पटुका आदि लगाएर नाचिन्छ भने रातिमा दिनका पोशाक यथावत राखी थप घाँगर पनि लगाइन्छ ।’

झण्डै तीस जनाको समूहमा नाच्न सकिने यो नाचमा पाँचजना जतिको फरक भूमिका हुन्छ भने अन्यको समान । पाँचजना जति फरक पोशाक र घोडचढी लट्ठीसहित व्यंग्य गर्ने, दर्शकलाई जिक्क्याउने र नाच शुरु गरेपछि गीत गाउँदै घरघरमा माग्न जान्छन् । यो समूहलाई कतै ढंग्या त कतै जोगी भन्ने गरिन्छ । अन्य नचारुहरुलाई बाहिरबाट सुरक्षा गर्ने, उनीहरुका लागि आवश्यक बस्दोबस्ती जुटाउन घरघरमा पुगेर सहयोग माग्ने काम उनीहरुले पाउने नाचका अर्का अगुवा विष्णुबहादुर रोकाले बताउनुभयो ।

यो नाचका जानकार ८७ वर्षीय बुढा एक वर्ष नाचेपछि मात्रै यो नाच सिकिने बताउनुहुन्छ । ‘गाउँमा त यो नाच छ महिना नाचिन्छ । दुई महिना दान झार्न मात्र हिडिन्छ’– उहाँले भन्नुभयो– ‘पुराना गुरुहरु मरिसके । नयाँ जति सबै स्कूल जान्छन् । यो नाच लामो समयसम्म हराएको थियो । अहिले फेरि ब्यूँझेको देख्दा खुशी लाग्यो ।’ विभिन्न तन्त्रमन्त्र, राजमोहन, पञ्चमोहन लगाएर यो नाच नाचिने उहाँले जानकारी दिनुभयो ।

रुकुम पूर्वमा सामान्यतः साउनको राँके संक्रान्तिका दिनदेखि शुरु गरेर माघे संक्रान्तिका दिनसम्म यो नाच नाचिन्छ । अहिले दशैंबाट पूजापाठ गरेर शुरु गरेर माघसम्म नाच्ने गरेको स्थानीय अगुवाको भनाइ छ । रन्मामैकोट, तकसेरा, हुकाम, महत, जाङ, मोराबाङ, काँक्रीलगायतका एक दर्जनभन्दा बढी गाउँमा यो नाच प्रशिद्ध छ । अहिलेका पुथाउत्तरगंगा र भूमे गाउँपालिकाका सबै गाउँमा यो नाच प्रशिद्ध छ । ढुंगा र तरबारको धारलाई छोएर कसम खाइ सो नाचको सुरुवात गर्ने चलन छ । शुरुका साढे चार महिना हरेक दिन साँझपख आ–आफ्नै गाउँमा नाचिने गरिए पनि १२ मंसिरदेखि आफ्नो गाउँ छोडेर छिमेकी गाउँमा गएर नाच्ने परम्परा रहेको छ । मंसिर र पुस महिनाभर अर्काको गाउँमा नाचेर पुस महिनाको मसान्तमा विशेष कार्यक्रम गरेर माघे संक्रान्तिका दिन राँगाको बलि दिई पूजाआजा र भोजभतेर गरेर यसको समापन गरिन्छ ।

मगर गीत गाउँदै विभिन्न भेषभूषामा सजिएर देउसीभैलो जस्तै गरी समूहमा घर–घरमा गइ नाचिने नाचमा दमाह, मादल, नरसिंह जस्ता पुराना बाजाको प्रयोग गरिन्छ । यो नाच नाच्दा मगरबस्तीमा महामारी नपस्ने, कुलदेवता खुशी हुने, गाउँमा शान्ति छाइरहने विश्वास रहँदै आएको छ । यद्यपि सामाजिक अध्येताहरुले ढुंगा र तरबारको धारलाई छोएर कसम खाइ नाच शुरु हुने, नाच सम्पूर्णरुपमा फौजीकलामा आधारित हुने, २२ ताल पूरै लडाइँकै शैलीमा नाचिने र लट्ठीको पनि प्रयोग हुने भएकाले यो मगर समुदायको सभ्यता र मानव सभ्यताकै इतिहाससँग जोडिएको हुनसक्ने बताउँछन् । पहिले प्रकृतिसँगको संघर्ष र त्यसपछि विभिन्न समुदायसँगको संघर्षका लागि यो नाच संस्कृतिकैरुपमा स्थापित भएको हुनसक्ने केही अध्येताको भनाइ छ । खेतीपाती नहुने मौसममा युवाहरुलाई फौजीकलामा तयार पार्न नाच शुरु गरिएकोजस्तो पनि देख्न सकिन्छ । त्यसो त यो नाच नाचेका धेरै युवाहरु बेलायत र भारतीय सेनामा जान फिट हुने भएकाले पनि पहिले–पहिले युवाहरुको यसमा आकर्षण देखिने गरेको जनजाति संस्कृति तथा परिवर्तन केन्द्रका अध्यक्ष रोका सम्झनुहुन्छ ।

३३ वर्षपछि नाचलाई पुनर्जीवन

रुकुमको क्याङ्सीमा ३३ वर्षपछि यो नाच ब्यूँझाइएको छ । २०४२ सालमा पञ्चायतले नै यो नाच लगेर गाउँ–गाउँमा जान रोक लगाएको मगर अगुवारुको भनाइ छ । ‘पञ्चायतकालदेखि यो नाच बन्द गरिएको थियो’– रोल्पा थवाङबाट दाङ बसाइ सर्नुभएका मगर समुदायका अगुवा सतबहादुर रोका मगरले भन्नुभयो– ‘यसमा प्रायः केटाहरु मात्रै नाच्नुपर्ने र उनीहरुको पढाइ धेरै बिग्रन थाल्यो भनेर पञ्चायतले नाच लिएर गाउँ घुम्न रोक लगाएको थियो ।’ यो नाचका हरेक स्टेपमा उफ्रने र फौजीकला देखाउनुपर्ने भएकाले यसमा स्वस्थ युवा मात्र नाच्न सक्छन् । अब विद्यार्थीहरुको पढाइमा समस्या नआउने गरी सांस्कृतिक पहिचान अघि बढाइने जनजाति संस्कृति तथा परिवर्तन केन्द्रका सचिव भूमिराज रोकाले बताउनुभयो ।

यो नाचको समग्र इतिहास खोजी गर्न बाँकी भए पनि रोल्पाको थवाङलाई यसको उद्गमथलो मान्ने गरिएको छ । ‘यो नाचको शुरुवात विसं १८१८ देखि भएको पाइन्छ’– मगर समुदायका अगुवा मेघप्रसाद रोका भन्नुहुन्छ– ‘थवाङका गुरुबाट यो नाच विस्तार भएको हो । त्यसैले हामी अहिले पनि थवाङको गुरुघर सम्मानका लागि जाने गर्दछौं ।’ खुना रोका, कोर्चे रोका र आदिबाट यो नाच विस्तार भएको उहाँको भनाइ छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top