Free songs
Home / फिचर समाचार / आहा ! माघी परिकार

आहा ! माघी परिकार

दशरथ घिमिरे

माघी पर्वमा खानपानले पनि विशेष महत्व राख्छ । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व मगर, नेवार र हिन्दू धर्मावलम्बीले विशेष गरी मनाउने चलन छ । समुदाय विशेषमा खानपान फरक–फरक हुन्छन् । थारु समुदायमा विशेषत ढिक्री, घोंगी, सुंगुरको मासु, अनदीको झोल खाने प्रचलन छ । चेलीबेटीलाई उपहार (निसराउ) दिने चलनले यस पर्वको महत्व झनै बढेको छ । थारु समुदाय प्रकृतिपूजक हुन् । चेलीबेटीलाई चामल, नून, मास उपहारको रुपमा मिसाएर दिने चलन छ ।

ढिक्री

ढिक्री यो साझा पकवान हो । थारु समुदायको चाड पर्वमा यो परिकार हरेकको घरमा पाक्छ । माघीमा त नपाक्ने कुरै भएन । दाङसहित थारु बाहुल्य जिल्लाका थारु समुदायका नागरिकको घरमा यो पकवान पकाउन शुरु गरिएको छ ।

ढिक्रीको स्वाद चखाउन मेला, महोत्सवमा स्टल राख्ने गरिन्छ । दाङको घोराहीमा आयोजना गरिएको माघ महोत्सवमा ढिक्री स्टल छ । ढिक्री मात्रै होइन, थारु संस्कृतिसँग जोडिएका अन्य पकवान पनि राखिएका छन् । सुंगुरको मासु, माछा, घोंगी थारु समुदायको चाडपर्वमा विशेष महत्व राख्छ ।

 


कसरी बनाउने ढिक्री ?
चामलको पीठोबाट पानीको वाफमा उसिनेर ढिक्री बनाउन सकिने शिवा चौधरीले बताउनु भयो । ‘शुरुमा चामलको पिठो चाहिन्छ । त्यसपछि पिठोलाई पानीमा मुछ्ने, आकार दिने । अनि त्यसलाई पानीको बाफमा पकाउने’– उहाँले ढिक्री बनाउने तरिका बताउँदै उहाँले भन्नुभयो– ‘ढकियाको तल्लो भागलाई काटेर फाल्ने र त्यसमा कपडा राखेर काँचो ढिक्री उसिन्न राख्ने । राखेको आधा/एक घण्टामा तयार हुन्छ ।’

ढिक्री सन्देश
थारु समुदायले प्रत्येक पर्वमा अलग–अलग ढिक्री बनाउने गर्छन् । दशैंमा गोलो ढिक्री हुन्छ । तिहारमा चेप्टो, दियो जस्तो हुन्छ । बीचमा औंलाले थिचेर चेप्टो बनाइन्छ । तेल हालेर दियो बाल्ने चलन पनि छ । माघीमा लामो ढिक्री बनाइन्छ । ढिक्री खाएमा मान्छेको आयु बढ्छ भन्ने सामाजिक मान्यता रहेको थारु अगुवा तथा पत्रकार छविलाल कोपिलाले बताउनुभयो । ‘ढिक्रीको सन्देश के हो भने मान्छेको आयु बढ्नेछ । न चिल्लो हुन्छ, नि चिनी हुन्छ’– उहाँले भन्नुभयो– ‘ढिक्री खायो भने दिनभरि बस्न सकिन्छ । जाडो महिनामा ढिक्री खायो भने मज्जाले पच्छ । गर्मीमा ढिक्री खायो भने पच्दैन । समयसँग पनि यसको महत्व छ ।’

घोङी
थारुहरूको विशेष परिकार हो, घोङी । शंखेकीरा प्रजातिको घोङी थारु महोत्सवहरूमा विशेष परिकारका रूपमा परिचित छ ।  पछिल्लो समय थारु समुदायमा मात्र नभएर गैरथारुहरूले पनि घोङीको स्वाद चाखिरहेका छन् । लोप अवस्थामा रहेको घोङी तराईका नदीनाला तथा पोखरीमा पाइन्छ । घोङी पकाउन भने झञ्झटिलो छ । घोङी ल्याइसकेपछि पछाडिको भाग काटेर फालिन्छ । त्यसपछि घोङीमा लागेको फोहर फाल्न केही बेर चलाइन्छ । सफा भइसकेपछि यसको परिकार तयार पारिन्छ । चुसेर यसको स्वाद लिन सकिन्छ ।

गंगटा
थारु समुदायमा गंगटाको पनि विशेष परिकार बनाइन्छ । गंगटा वर्षायाममा बढी पाइन्छ । गंगटाको जीउमा भएका दुईवटा हातले चिमोट्ने हुँदा आम मानिस यसलाई समात्न डराउँछन् । हाडैहाडले बनेको गंगटाको मासुले स्वास्थ्यलाई पनि फाइदा पु¥याउँछ ।

सुंगुर र मुसाको मासु


सुंगुर र मुसा विशेषतः पश्चिमका थारुहरूले खाँदै आएका छन् । पश्चिमका थारुहरूमा मुसाको मासु खाने प्रचलन रहँदै आएको छ । सुंगुरको मासु समेत माघीमा खाने गरिन्छ ।

 अनदीको झोल
अनदी चामलबाट बनाइएको झोललाई जाँड भन्दा पनि हुन्छ ।  पश्चिमको थारु समुदायमा यो झोल विशेष मानिन्छ । पर्व, भोज तथा विशेष समारोहमा यस प्रकारको झोल अनिवार्यरूपमा खुवाउने प्रचलन छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top