Free songs
Home / सम्पादकीय / समन्वय र सहकार्यबाटै अगाडि बढ्नुपर्छ

समन्वय र सहकार्यबाटै अगाडि बढ्नुपर्छ

दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न यहाँका राजनीतिक दल, नागरिक समुदाय, जनप्रतिनिधिलगायत सबै क्षेत्रले आ–आफ्नो तहबाट महत्वपूर्ण योगदान पु¥याएका हुन् । आफ्नै ठाउँमा उच्चस्तरको स्वास्थ्य उपचार सुविधा उपलब्ध हुनुका साथै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको उत्पादन समेत हुने अपेक्षाका साथ ठूलो उत्साह र आशाको सञ्चार भएको थियो । राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विवाद टुंगो लागेपछि प्रतिष्ठानले आफ्नो काम प्रभावकारीरुपमा सञ्चालन गर्ने आशा गरिएको थियो । तर पहिलो गासमै ढ्ुंगा भनेझै प्रतिष्ठानले सेवा शुल्कमा अत्यधिक बृद्धि गर्नुका साथै विगतमा सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य सेवा बन्द गरेर आमजनतालाई निराश बनाउने र जनआक्रोश पैदा गर्ने काम ग¥यो । विगतको त्रुटिपूर्ण निर्णय अदालतले समेत अस्वीकृत गरिसकेकोले अब त्यसलाई धेरै कोट्याउने भन्दा नयाँढंगले अगाडि बढ्न प्रतिष्ठानलाई सबैले सघाउनुपर्छ । साथै प्रतिष्ठानका पदाधिकारीहरु जनउत्तरदायी र जिम्मेवारपूर्ण भूमिकामा हरदम क्रियाशील रहन सक्नुपर्छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलवार सम्पन्न दोस्रो सभामा प्रधानमन्त्री एवं कुलपतिले जेजस्ता विचार राख्नुभएको छ र निर्देशन दिनुभएको छ, त्यसले प्रतिष्ठानलाई अगाडि बढ्न सहयोग पु¥याउने नै छ । प्रतिष्ठान सरकारले नै जन्माएकोले आमाले बच्चाको संरक्षण गरेजस्तै प्रतिष्ठानको संरक्षण गर्ने दायित्व सरकारको हुनेछ भनेर प्रधानमन्त्रीले प्रष्ट पारिसक्नु भएकोले सोही प्रतिबद्धताअनुरुप काम हुने कुरामा आशावादी बन्ने ठाउँ देखिएको छ । नेपाल सरकारले निःशुल्करुपमा सञ्चालन गर्दै आएका सेवाहरुलाई प्रतिष्ठानमार्फत् निरन्तरता दिने बाटो खुलेको छ । त्यसैले अब कुनै पनि बहानामा जनताले पाउने सेवा सुविधामा कमी आउनुहुँदैन । कुनै पनि बिरामी प्रतिष्ठानमा उपचार नपाएर बाहिर जानुपर्ने अवस्था आउन दिनुहुँदैन । प्रतिष्ठान धेरै रकम खर्च गर्न सक्ने धनीमानीका लागि नभएर यस क्षेत्रका सामान्य नागरिक एवं गरिव जनताका लागि हो भन्ने गरी काम अगाडि बढाउन प्रतिष्ठानको नेतृत्वले गम्भीरता देखाउनुपर्छ । खर्च गर्न सक्ने हैसियत भएकाहरुले काठमाडौं, लखनऊ, दिल्ली र विदेशका महंगा अस्पतालहरुमा उपचार गराइरहेका छन् । त्यहाँसम्म पहुँच नभएकाहरुलाई नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता संस्थाहरु चाहिएको हो ।

एशियाकै ठूलो उपत्यका मानिएको दाङमा प्रतिष्ठानका लागि जग्गा खरिद गर्नेभन्दा पनि निःशुल्करुपमा प्राप्त गर्नेतर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी छ । यसका लागि प्रतिष्ठानको नेतृत्वले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग राम्रोढंगको सहकार्य गर्न सक्नुपर्छ । जसलाई आवश्यक छ, उसले हात फैलाउन सक्नुपर्छ । यसो गर्नुलाई कमजोरी हैन, सहकार्यका लागि आग्रह गरेको अर्थमा बुझ्नुपर्छ । यसैगरी प्रदेश र केन्द्र सरकारसँग समन्वय र सहकार्य गरेर नै प्रतिष्ठान अगाडि बढ्न सक्नुपर्छ । कुनै पनि संस्थाको नेतृत्व परिवर्तन भइरहने भएकोले अनुहार हेरेर धारणा बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । मूल कुरो संस्था हो र त्यसलाई नै केन्द्रमा राख्नुपर्छ । त्यसैले प्रतिष्ठानको नेतृत्व सहमति, सहकार्य र समन्वयको बाटोबाटै अगाडि बढ्नुपर्छ । यसमा कोही पनि चुक्नुहुँदैन । दाङमा स्थापना भएको यति ठूलो संस्था कसैको स्वार्थ र अहंकारको शिकार बन्नुहुँदैन ।

काठमाडौंमा हालै सम्पन्न प्रतिष्ठानको दोस्रो सभाले प्रतिष्ठानलाई नयाँढंगले गतिमान बनाउन सकोस् भन्ने यस क्षेत्रका जनताको चाहना रह ेको छ । सरकार र प्रतिष्ठानलाई फरक–फरक एवं कतिपय अवस्थामा प्रतिस्पर्धीको रुपमा हेर्ने पुरानो चिन्तन अब काम लाग्दैन । प्रतिष्ठान राज्यको निर्णयबाट स्थापना भएको र राज्यकै लगानी रहेको संस्था भएकोले राज्य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन ।

राज्यको नियम कानुनअन्तर्गत नै यो संस्था चल्ने हो । स्वायत्तताको अर्थ आफूखुशी निर्णय गर्ने वा चल्ने अर्थमा बुझ्नुहुँदैन । स्वायत्तता पनि राम्रो काम गर्नकै लागि चाहिएको हो । स्वायत्ततालाई बन्धनमुक्तको अर्थमा बुझ्नु हुँदैन । कुनै पनि संस्था विधि, प्रक्रिया र नियम कानुनअन्तर्गत नै चल्ने हो । स्थापनाकालमा शुरुवाती चरणमा केही समस्याहरु देखिएका छन् । भविष्यमा त्यसले निरन्तरता पाउनुहुँदैन । गल्ती र कमजोरीबाट पाठ सिकेर अगाडि बढ्न सकिन्छ । यसमा प्रतिष्ठानको नेतृत्व, सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सबै पक्षले गम्भीरतापूर्वक समीक्षा गरेर अगाडि बढ्न सक्नुपर्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top