Free songs
Home / फिचर समाचार / अंपागमैत्री भवन नहुँदा समस्या

अंपागमैत्री भवन नहुँदा समस्या

 

सागर रिजाल

प्युठान । जिल्लामा प्रायः भौतिक संरचना अपांगतामैत्री बनेका छैनन् । जुनसुकै संरचना बनाउ“दा अपांगतामैत्री बनाउनुपर्ने कानुनमा उल्लेख गरिए पनि सरोकारवालाको ध्यान पुगेको छैन । अपांगतामैत्री भौतिक संरचना नहु“दा विद्यालयमा अध्ययन गर्ने अपांगता विद्यार्थीका लागि झनै समस्या भएको छ ।

भौतिक संरचनाको कारण अपांगता भएका विद्यार्थीहरुलाई अध्ययनमा समस्या भएको जिल्ला अपांग सेवा संघका अध्यक्ष जुमासिंह केसीले बताउनुभयो । अध्ययनरत बालबालिकालाई बस्न, शौचालय जान र मनोरञ्जन गर्नसमेत समस्या परेको उहाले बताउनुभयो ।

भौगोलिक विकटता र अशिक्षाका कारण गाउमा रहेका बालबालिका अध्ययनबाट बञ्चित छन् । सीमित संख्यामा रहेका स्रोतकेन्द्रमा पूर्वाधार छैनन् । त्यसमाथि अपांगमैत्री संरचना नहुदा बालबालिकाहरुलाई निकै समस्या पर्ने गरेको छ । फरक क्षमता भएका अपांगता बालबालिकाको व्यवहारिक पक्ष र भौतिक संरचना अपांगतामैत्री निर्माण गर्न अहिलेसम्म कसैको ध्यान नपुगेको अध्यक्ष केसीकोे गुनासो छ ।

अंपाग विद्यार्थीलाई समस्या

जिल्लाभरमा सदरमुकाम खलंगा, प्युठान नगरपालिकाको बाग्दुला र खैरामा अपांगता भएका विद्यार्थीहरुका लागि स्रोतकक्षा सञ्चालनमा छन् । खलंगामा दृष्टिविहीन बालबालिका, खैरामा सुस्त श्रवण शक्तिको समस्या भएका र वाग्दुलामा सुस्त मनस्थिति भएका अपांगता भएका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

खलंगाको स्रोतकेन्द्रमा ६ जना छात्र र तीनजना छात्रा गरी नौजना दृष्टिविहीन बालबालिका अध्ययन गर्दछन् । बाग्दुलामा छात्रा चार र छात्र चार गरी आठजना सुस्त मनस्थिति भएका बालबालिकाले अध्ययन गरिरहेका छन् । खैरामा २३ छात्र र नौ छात्रा गरी ३२ जना बालबालिकाले अध्ययन गरिरहेका छन् । तर विद्यालय र सार्वजनिक क्षेत्रका अधिकांश ठाउ“मा अपांगमैत्री भौतिक संरचना बन्न सकेका छैनन् । जसका कारण विद्यार्थीहरुले निकै समस्या झेल्नुपरेको छ ।

‘पुरानो संरचनाको भवनमा कक्षा सञ्चालन गरिरहेका छौं’– खैरामा सञ्चालित स्रोत कक्षाका सहजकर्ता धनेश्वर पोख्रेलले भन्नुभयो– ‘अपांगमैत्री भौतिक संरचना हुने कुरै छाड्नुस्, कक्षा सञ्चालनका आधारभूत पूर्वाधार नभएर समस्या परेको छ ।’ पर्याप्त सहजकर्ताको व्यवस्था छैन । सांकेतिक भाषामा कुरा गर्नुपर्ने बालबालिका आफ्नै स्वभावका हुन्छन् । त्यसमाथि अभाव छुट्टै छ ।

असजिलो संरचनाले साह्रै समस्या पार्ने गरेको विद्यार्थीहरु बताउछन् । घरमा होस्, स्कूलमा होस् वा अन्य सार्वजनिकस्थलमा जान निकै समस्या पर्छ । ‘धेरैजसो ठाउ अप्ठ्यारा र असजिलो लाग्ने किसिमका छन्’– कक्षा ७ मा अध्ययनरत विद्यार्थी ओमप्रसाद गाहा भन्नुहुन्छ– ‘असहजताको कारण कैयौं ठाउमा जानै सकिन्न ।’ कतिपटक त शौचालय अप्ठ्यारो भएर रोकेर बस्नुपर्ने बाध्यता उहाले सुनाउनुभयो ।

‘हामी छात्राको आफ्नै संवेदनशीलता हुन्छ । त्यसमाथि अपांगता भएका कारण थप समस्या झेल्नुपर्छ’– विद्यार्थी रुपा गन्धर्वले भन्नुभयो– ‘हामीलाई हि“ड्दा ठोक्किन्छ कि भन्ने डर लाग्छ, सहजरुपमा अपांगमैत्री बस्ने ठाउ भएन ।’ रुपाका बुवा ऐरावती गाउपालिका वडा नं. ५ का सुरेश गन्धर्वले भौतिक संरचनाका कारण छोरीले विद्यालयमा समस्या पर्ने गुनासो गर्ने गरेको बताउनुभयो । ‘अपांगता भएका छोराछोरी दुबै विद्यालयमा पठाएको छु, विद्यालयमा बस्न र खानको लागि त सहज छ’– उहाले भन्नुभयो– ‘शौचालय र अध्ययन गर्ने सामग्रीको अभाव भएका कारण समस्या झेल्नुपरेको गुनासो गर्छन् ।’

भवन निर्माणले सहजता

खलंगामा रहेको दृष्टिविहीन स्रोतकेन्द्रका सहजकर्ता वसन्तलाल शाक्यले नया भवन बनेपछि केही सहज भएको उल्लेख गर्नुभयो । कालिका विकास केन्द्र नेपालको सहयोगमा नया“ भवन बनेपछि सहज भएको छ । नया भवन अपांगमैत्री बनाइएको छ । उनीहरुकै अनुकूलतामा कक्षाकोठा, शौचालय र अन्य संरचनाहरु पनि निर्माण गरिएको छ ।

अपांगतामैत्री संरचनाले बालबालिकाको दैनिकीमै असर पार्दछ । ‘पहिले निकै समस्या थियो । जीर्ण भौतिक संरचना त्यसमाथि देख्नसक्ने साथीहरुको भीडभाडले शौचालयमा समेत समस्या पर्दथ्यो ।’ २०६३ सालदेखि खलंगामा ब्रेललिपीमा पढेर हाल स्नातक प्रथम वर्षमा अध्ययन गरिरहनुभएका इन्द्र थापाले भन्नुभयो– ‘अहिले सजिलो छ । तर अन्य ठाउ“मा पुग्दा समस्या उस्तै छ ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top