Free songs
Home / विचार / विद्यालय समयमा शिक्षकलाई गेटभित्रै थुन

विद्यालय समयमा शिक्षकलाई गेटभित्रै थुन

गोविन्द खड्का

रहरलाग्दा बच्चाहरु हुलका हुल कुदिरहेको सबै शिक्षकलाई मन पर्छ । झ्याउ–झ्याउ चिच्याउदै पढ्ने बच्चाहरु गहनाको महसुस हुन्छ । यति बेला केही विद्यालयमा शिक्षकहरु विद्यार्थी नभेटेर झिंगा हाक्दै बसेका हुन्छन् । तिनीहरु विद्यालय समय १० देखि चार बजेसम्म अडिन सक्दैनन् ।

जोसुकै शिक्षकहरु बालविकास मावि घोराहीको गेटभित्र पस्यो भने हररर जागर आउछ होला । मावि डाडागाउ गोग्लीका प्रधानाध्यापक सतिशकुमार आचार्यले ५८ औं वार्षिकोत्सवमा थोरै पूजी, न्यून आयस्रोतमा गरिएको बृहत् प्रगति भनेर टिप्पणी गर्नुभयो । उहा टाढैबाट वार्षिकोत्सवमा सहभागी हुनुको कारण ठूलो मान्छे बन्न होइन, सिक्नका लागि थियो । आचार्यलाई आफूले गरेको काम र बालविकासले देखाएको परिवर्तन तुलना गर्नुथियो । डाडागाउ पनि कमजोर विद्यायलय होइन । विद्यालय समय शुरु भएसगै मुख्य गेट बन्द गरिन्छ । प्रअ आचार्यका अनुसार शिक्षक पनि पस्न पाउदैन । बाहिर जान पनि अनुमति चाहिन्छ । समय गुजारेर भित्र आउन भने पाउदैन । विद्यालयको अनुशासन हो । त्यसलाई कर्तव्य सम्झिनुपर्छ ।

पाले राखेर मुख्य गेट बन्द गर्ने नियम बालविकास माध्यमिक विद्यालयले पहिलेदेखि नै लागु गरेको छ  । शुभप्रभात माविले भर्खरै प्रयोगमा ल्याएको छ । प्रधानाध्यापक रुद्रबहादुर बुढालाई विद्यालय समयसम्म विद्यार्थी होइन शिक्षक अड्याउन मुस्किल भएको छ । दश बजेदेखि चार बजेसम्म बस्नुपर्छ भन्दा केही शिक्षक आश्चर्य व्यक्त गर्छन् । तिनलाई अनौठो र नया“ नियम जस्तो लाग्छ । कहीं नलागेको नियम, अहिलेसम्मका हेडमास्टरले नचलाएको चलन भनेर आलोचनामा उत्रिन्छन् । यस्तो विजोग अन्तका विद्यँलमा पनि छ ।

हाम्रा सरकारी विद्यालय असफलतातिर उन्मुख हुनुको मुख्य कारण तलव खाएका शिक्षक विद्यालयमा दशदेखि चार बजेसम्म बस्न नसक्नु हो । अनुपस्थितिले भौतिक शरीरको मात्रै अर्थ राख्दैन । जसको दिमाग विद्यालय समयमा स्कूलमा बस्नुपर्छ भन्ने छैन त्यसको सिर्जनशील सोच हुन्न । दिलै खोलेर कक्षाकोठामा विद्यार्थीस“ग हा“स खेलसहित रमाउन पनि सक्दैन । जब शिक्षक कक्षा कोठामा सन्तुष्ट भएर रमाउन सक्दैन तब बच्चाहरु भुल्ने कुरै हुदैन ।

बच्चाहरु हरेक दिन नया कुरा चाहन्छन् । कथा सुन्न खोज्छन् । चित्र कोर्न र हेर्न चाहन्छन् । आफ्ना विचार, भावना प्रस्फूटन गर्ने थलो विद्यालय हो । हरेकका आ–आफ्ना सोच हुन्छन् । तिनलाई विकसित गराउने शिक्षकको भूमिकाले हो । शिक्षकस“ग शैक्षिक सामग्री हु“दैन । जतिजना बच्चा हुन्छन् त्यति बिचार बोकेका हुन्छन् । त्यतिकै घर परिवारको स्वभाव शैली लिएका हुन्छन् । ड्युटीमा नरहने शिक्षकको त्यसप्रति ध्यानै जा“दैन । सिकाइ समूहले निकाल्ने पुस्तकहरुमा लेखिएको छ– शिक्षक पढाउ“दा थाक्छन्, उनीहरु घोडा बन्नुपर्छ । बाघ बन्नुपर्छ, कुकुर जस्तै भुक्नुपर्छ, पाठले मागेको गरेर देखाउनुपर्छ अनि मात्रै बच्चाले बुझ्छन् । यहाका कतिपय शिक्षक घरको काम गरेर थाकेर विद्यालय पुग्छन् र कुर्सीमा निदाउ“छन् । त्यसको नतिजा हरेक वर्षका वार्षिक परीक्षामा घट्दो र एसइइमा लाजमर्दो हुन्छ ।

यता शिक्षकहरु विद्यालय समय पूरा बस्न सक्दैनन् । कतिलाई पूजापाठ, धर्मकर्म, साथीसंगी आफन्तका कथा व्यथा, पात टिप्ने टपरी लगाउनेले पूरै दिमाग खाइदिएको छ । केहीमा संघसंस्थामा जान्ने बुझ्ने टाठाबाठो कहलिने र ठूलो मान्छे बन्ने नसा चढेको छ । खादा पहिरिने, माला लगाउने, भाषण गर्ने, प्रशिक्षण दिने, संघसंस्थामार्फत घुम्न जाने गर्छन् । तिनले आफू शिक्षक हु भन्न पनि लाज मान्नुपर्ने हो । समाजमा तिनको परिचय शिक्षक भन्दा फरक छ । मास्टर भनेर बोलायो भने हिनताबोध गर्छन् । अरुलाई उच्च ठान्छन् । फलानो स्कूलका मास्टर भन्दा हिनताबोध गर्छन् । अपमान गरेको सम्झिन्छन् । तर उनीहरुले विद्यालयमा तलव खान भने अप्ठेरो मान्दैनन् ।

केही वर्ष अघि मात्रै रक्सी खाएर आएका हेडसरले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा चर्तिकला देखाएका थिए । दिउ“सो रक्सी खाएर विद्यालय जाने शिक्षकहरु अहिले पनि केही विद्यालयमा भेटाउन सकिन्छ । त्यो भन्दा पनि खतरा के छ भने शिक्षक तथा हेडमास्टरको दिमाग अन्तै छ । उनीहरु कि त राजनीतिमा छन् । नेता बनेर झोला बोक्छन् । कि त संघसंस्थामा एकोहोरा लागेका छन् । बिमा, मार्केटिङ लगायत अनेकौं लफडामा फसेका छन् । उनीहरुको मुख्य पेशा अरु अरु बन्दैछ । विद्यालयमा हाजिरका लागि उपस्थित हुन्छन् । समयमा विद्यालय आउने र कर्तव्य पूरा गर्नेले मात्रै विद्यालय सहीढंगले सञ्चालन गरेका हुन्छन् ।

यसमा दोषी राजनीतिक दल र पार्टीहरु छन् । शिक्षकलाई भातृ संगठनमा पार्टीहरुले नै समावेश गराउ“छन् । सबै पार्टीले आफ्ना भातृ संगठन खोलेका छन् । सरकारमा नजा“दासम्म शिक्षकलाई राजनीतिक जिम्मेवारी दिन्छन् । कार्यक्षेत्रमा खटाउछन् । जब सरकारमा जान्छन्, मन्त्री पाउ“छन् तिनै शिक्षकलाई राजनीति गरेर विद्यालय बिगारे भनी आलोचना गर्छन् । आफैले राजनीतिमा लाग्न उक्साएको आफै कारवाही गर्छु भनेर कुर्लिएको देख्दा उदेक लाग्छ । यसकारण विद्यालय बिगार्न सरकार मुख्य दोषी छ । शिक्षकले राजनीति गरेको कसले थाहा पाएको छैन ? एउटा शिक्षकलाई जीवन निर्वाह गर्न सक्ने तलव दिएको छैन । उसले बच्चा पढाउने र आफ्नो गुजारा चल्ने तलव पाउनुपर्छ । ता कि शिक्षकले अर्को पेशा सोच्नु नपरोस् । त्यसपछि पूरै समय र ध्यान नलगाउने शिक्षकहरुलाई हटाइदिनुपर्छ ।

बेरोजगारहरु प्रशस्तै छन् । यति तलवमा जागिर खान आउनेहरु शिक्षक सेवा आयोगमा लाईनमा बसेका छन् । यस्तो वस्तुगत अवस्था रहेको बेला शिक्षकहरु कर्तव्यच्युत हुन मिल्दैन । सामुदायिक विद्यालयको क्षमता र प्रगतिलाई हरेक वर्ष निजी विद्यालयले टक्कर दिन्छन् । सरकारी जागिरमा पसेका क्षमतावान शिक्षकहरुले आफ्नो क्षमतामा प्रश्न गर्दा झस्किनुपर्छ । खिसिटिउरी गर्दै आएको सुन्दा ग्लानी महसुस गर्नुपर्छ । पूर्वजहरु निवृत्त शिक्षक समाज गठन गरेर गुरु बन्न पाएको महान अवसरको समीक्षा गरिरहेका छन् । अहिलेका शिक्षकहरुले पनि भावी पुस्ताले मेरो जीवन सफल बनाउने गुरु भनेको सुन्न आतुर हुनुपर्छ । पढाउन लाज मान्ने, आज निरीक्षक आउ“छ कि ? गल्ती भेटाउ“छ कि ? भनेर डराइ डराई विद्यालय पुग्ने चरित्रले गुरुको दर्जा पाउन मुस्किल छ ।

कसैले प्रशंसा गरेको व्यक्तिको मात्र होइन सिंगो शिक्षक पेशाको हो । जीवनको उत्तराद्र्ध र जागिरको अन्तिम चरणमा अपमानित र अपहेलित हुनबाट जोगिनुपर्छ । अरुले खिसिटिउरी गरेको, चुरोटको खोलमा तोक लगाएर जागिर खाएको छ भनेर घृणा र अपमान गरेको, पढाउन सक्दैन भनेर मानमर्दन गरेको, यसले त केही जान्दैन भनेर हेला गरेको, अन्तै घुमेर विद्यालयको तलव खाएको छ भनेर आलोचना गरेकोलाई शिक्षकहरुले कुनै पनि हालतमा सामान्य ठान्नुहुन्न । कसैको क्षमतामा प्रश्न उठाउनु गम्भीर सवाल हो । त्यो पनि सहेर बस्ने लाचारीपना भनेको साच्चै घृणा गर्नलायक हुन्छ । त्यो अपमानबाट शिक्षकहरु जोगिउन् ।

मेरो बच्चाले के गरिरहेको छ भन्ने हरेक अभिभावकले ख्याल राख्नुपर्छ । नार्कोनन नेपालका प्रदेश संयोजक वसन्त पुन भन्नुहुन्छ– बच्चाले अनुहारतिर हेरेन, राति ढिलासम्म बस्यो, बिहान ढिलो समय उठेन भने सोच्नुपर्छ पक्कै पनि वच्चा कुनै कुलतमा फस्यो । यसो त शिक्षकले पनि बुझ्नुपर्छ बच्चाको पढाइमा उत्साह छ कि छैन । हिजोको भन्दा आज कति फरक छ ? उसको परिवर्तन अभिभावकलाई जानकारी गराउनुपर्छ । बच्चा बिग्रिदैन । सबै अभिभावकको फोन नम्बरसहितको विवरण तयारी हालतमा राख्नुपर्छ । केही सरकारी विद्यालयहरुले यसरी सूचना दिदैनन् । सफल बनेका विद्यालहरु भने सबै विधि पूरा गरेका छन् । बालविकासका राजेन्द्रकुमार श्रेष्ठ, माध्यामिक विद्यालय रझेनाका उद्धव न्यौपानेलगायत पछिल्लो चरणमा तीब्र प्रगति गरेका प्रधानाध्यापकहरु यसका उदाहरण हुन् । पहिलो शर्त, विद्यालय समयमा शिक्षकहरु गेटभित्रै थुनिनुपर्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top