Free songs
Home / फिचर समाचार / मौलिकता जोगाउन ‘लोक नृत्य’

मौलिकता जोगाउन ‘लोक नृत्य’

आभास बुढाथोकी

घोराही ।

होश ना खबर है
ए कैसा असर है
तुम्से मिल्ने के बाद दिलवर
दिलवर, दिलवर हे……दिलवर दिलवर

यतिबेला विवाह, पार्टी, जन्मोत्सव, चाडपर्वदेखि सांस्कृतिक कार्यक्रमहरुमा समेत ठूला स्पिकरहरुमा गुञ्जायमान हुने यस्ता विदेशी गीतसंगीतको प्रभाव बढ्दो छ। वाह्य गीतसंगीत र नृत्यको प्रभावले एकातिर नेपाली लोकगीत, संगीत र लोकनृत्यहरु उपेक्षित अवस्थामा रहेको बेला विद्यालयस्तरबाट भने यसको संरक्षणका लागि निकै राम्रा प्रयासको थालनी भएका छन्।

पुस १६ गते गोरखा इन्टरनेशल पब्लिक माध्यमिक विद्यालयले वार्षिकोत्सवको अवसरमा प्रस्तुत गरिएका कुनै गीत र नृत्य नेपाली लोकसंस्कृतिभन्दा बाहिर थिएनन्। लोकगीत अनुसारकै भेषभूषामा छात्रछात्राहरुले कौडा, मारुनी, थारुलगायत विभिन्न नेपाली लोकनृत्य एवं गीत प्रस्तुत गरे। विदेशी गीतसंगीत बढी मन पराउने पछिल्लो पिढीलाई विद्यालयस्तरबाट नेपाली लोकनृत्य सिकाइनु, लोक संस्कृति र मौलिकता जोगाउनका लागि गरिएको यो एउटा उदाहरणीय प्रयास हो।

‘विदेशी गीत, संगीत र नृत्यहरु विद्यालयमा बन्द गरेका छौं’– गोरखा इन्टरनेशल माध्यमिक विद्यालयका प्रधानाध्यापक मानसिंह घर्ती भन्नहुन्छ– ‘विभिन्न जातजातिस“ग जोडिएका वा अन्य लोक संस्कृृतिस“ग जोडिएका गीत, संगीत र नृत्यहरुलाई नै जोड दिदै आइरहेका छौं।’ विद्यालयमा हुने कुनै पनि सांस्कृतिक वा अन्य कार्यक्रमहरुमा लोकनृत्यहरुलाई बढी प्राथमिकतामा राखेको उहा बताउनुहुन्छ।

जिल्लाका अन्य विद्यालयहरुले पनि वार्षिकोत्सवलगायतका अन्य सांस्कृतिक कार्यक्रमहरुमा नेपाली लोकनृत्यलाई नै प्राथमिकतामा राख्न थालेका छन्। झण्डै दुई वर्षअघि तत्कालीन जिल्ला शिक्षा अधिकारीको नेतृत्वमा विद्यालयहरुमा विदेशी गीत, संगीत र नृत्यहरु प्रस्तुत नगर्ने निर्णयपछि नेपाली लोकनृत्यलाई प्राथमिकतामा राख्ने गरिएको थियो। त्यसयता विद्यालयहरुले नेपाली लोकगीत, संगीत र नृत्यहरुलाई प्रमुखतामा राखेका छन्।

संस्थागत विद्यालयहरुको साझा संगठन प्याब्सन दाङका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार यादव गिरीले नेपाली मौलिक लोकगीत, संगीत र लोक संस्कृतिका बारेमा विद्यालयस्तरबाट सिकाइनु प्रभावकारी हुने बताउनुहुन्छ। ‘विद्यार्थीहरुमा राष्ट्रियताको भाव जगाउन विद्यालयबाट शुरुवात गरिनुपर्छ’– उहा भन्नुहुन्छ– ‘लोकनृत्य, गीत, संगीतजस्ता मौलिक कला संस्कृति जोगाउन विद्यालयबाट सिकाइने नृत्य र गायन पनि सजिलो माध्यम हो।’ नेपाली लोकसंस्कृतिबारे पाठ्यक्रममा समावेश गर्न सके अझ प्रभावकारी हुने उहाको भनाइ छ।

 

लोकसंस्कृतिविद् डा.गोविन्द आचार्यले नेपाली लोकसंस्कृतिको संरक्षण गर्न विद्यालयस्तरबाट यस्ता प्रयास थालिनु राम्रो भएको बताउनुहुन्छ। ‘पछिल्लो पुस्ता हाम्रो लोक संस्कृतिबारे जानकार छैन। त्यसमा पनि पश्चिमेली संस्कृतिको प्रभाव बढ्दो छ’– उहाभन्नुहुन्छ– ‘लोकसंस्कृति संरक्षण र पुस्तान्तरण गर्न नयॉ पुस्तालाई त्यसबारेमा बुझाउन जरुरी छ। सरकारले पाठ्यक्रममा नै संगीत र संस्कृति समावेश गरेर विद्यालयस्तरमा शुरु गर्न आवश्यक छ।’ त्यस्तै सञ्चार माध्यमहरुले पनि प्रचारप्रसारमा नेपाली लोक संस्कृतिलाई बढी प्राथमिकता दिनुपर्ने उहॉको भनाइ छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top