Free songs
Home / सम्पादकीय / उडानले नियमितता पाउने आशा

उडानले नियमितता पाउने आशा

टरिगाउँ विमानस्थलमा आयल निगमको अस्थायी इन्धन डिपो स्थापना हुने भएपछि उडानले नियमितता पाउने आशा जागेको छ । हाल दैनिक रुपमा उडान भइरहेको विमानस्थलमा इन्धन डिपो स्थापनाका लागि आवश्यक सामानहरु सहित प्राविधिकहरु सम्भवतः आज आउने कुरा छ । इन्धन बोक्ने ट्यांकर र विमानमा तेल हाल्ने वाउजर मेसिन तुलसीपुर एयरपोर्टमा आउने कुराले इन्धन डिपो स्थापना हुने निश्चित देखिएको छ । यसले दाङलगायत यस भेगका नागरिकहरुको विगत लामो समयदेखिको माग संबोधन गरेको छ ।

जिल्लाबाटप्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको सामूहिक प्रयास र तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको निरन्तरको प्रयासपछि दाङ–काठमाडौं सिधा हवाई सेवा सुचारु हुन पुगेको हो । अस्थायीरुपमा स्थापना हुन लागेको इन्धन डिपोलाई स्थायी रुपमा स्थापित गरेर हवाई सेवालाई दिगोरुपमा निरन्तरता दिनेतर्फ सम्बद्ध पक्षको शुरुदेखि नै ध्यान जानु जरुरी छ ।

पटक–पटक चल्दै र बन्द हुँदै आएको उक्त विमानस्थल पुनः सञ्चालनमा आएपछि समिट एयरको ट्वीनअटर विमानले साताको दुई दिन उडान भर्नेगरी २०७४ पुस २३ देखि उडान शुरु गरेको थियो । उडान शुरु गरेको छोटो समयमै शुल्क बढाएर उसले उडान स्थगित गरेको थियो । केही वर्षअघि तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा केही समय उडान हुने गरेको थियो । तर त्यो पनि दिगो हुन सकेन । विगत हेर्दा २०६६ मंसिर १ गते यात्रु नभएको भन्दै नेपाल वायु सेवा निगमले एक्कासी उडान रोकेको थियो । २०११ सालमा स्थापना भएकोविमानस्थलमा २०१४ देखि नियमित उडान हुन थालेको थियो । २०५१ असोजमा बन्द भएको विमानस्थल २०५९ मा मात्रै खुलेको थियो ।

२०५९ मा केही समय चलेर फेरि बन्द भएको विमानस्थल अहिले फेरि नियमित हुने संकेत देखिएको छ । २०६८ सालपछि विभिन्न विमान कम्पनीहरुले बेला–बेलामा सेवा दिए पनि नेपाल वायुसेवा निगमले भने यही वर्षदेखि सेवा शुरु गरेको हो । पछिल्लो पटक २०७५ असोज २२ देखि दुई दिन सोमवार र शुक्रवार उडान भर्नेगरी नेपाल वायु सेवा निगमको सानो विमानले सेवा शुरु गरेको थियो । तुलसीपुरमाा इन्धन डिपो नहुँदा भैरहवा हुँदै दाङ उडान भर्ने गरेको विमानले पछिल्लो समयमा यात्रु संख्या घटाएर काठमाडौंबाट सिधा उडान भर्ने गरेको थियो । यही पुस १२ गतेदेखि भने वायु सेवा निगमले टरिगाउँ–काठमाडौं नियमित उडान भर्दै आएको होे । इन्धन डिपो नभएका कारण नियमित उडानमा समस्या भएको बताउँदै आएका एयरलायन्स कम्पनीहरुले अब इन्धन डिपो स्थापना भएपछि उडान शुरु गर्ने विश्वास गरिएको छ । दाङ र यस भेगका नागरिक सबैका लागि यो सुखद कुरा हो ।

नियमित उडानका लागि इन्धन डिपो नहुनु एउटा प्रमुख समस्या थियो । यसबाहेक पनि विमानस्थलमा पूर्वाधार विकास र विस्तारका लागि गर्नैपर्ने कामहरु छन् । टर्मिनल भवनलगायतका आधारभूत पूर्वाधार निर्माणका कामहरु छन् । त्यस्तै कम्तिमा ४०÷५० सिट क्षमताका विमानले उडान भर्नसक्ने गरी विमानस्थल विस्तार गर्न सके भाडा दर कम गर्न सकिन्छ । महंगो टिकट हुँदा पनि हवाई सेवा प्रभावित हुनु स्वाभाविक छ । यो जिल्लाबाट प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले एक भएर जोडबल गर्ने र जिल्लाका स्थानीय सरकारसमेत जोडिने हो भने यो तत्काल गर्न सकिने काम हो । विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माणको विषय सबैको प्राथमिकतामा पर्नुपर्छ । दाङमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्ने दीर्घकालीन योजना बहसमा भइ रहेका बेला टरिगाउँ विमानस्थल स्तरबृद्धिको विषय ओझेलमा पर्नुहुन्न । पहिले भरपर्दो घरेलु हवाई सेवा सञ्चालनमा ध्यान दिउ“ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि दीर्घकालीन योजना बनाऔं ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top