Free songs
Home / अन्तर्वार्ता / स्रष्टाहरुले गलत कुराको आलोचना गर्ने नैतिक साहस गुमाउनुहुन्न

स्रष्टाहरुले गलत कुराको आलोचना गर्ने नैतिक साहस गुमाउनुहुन्न

डा. अमर गिरी, वरिष्ठ साहित्यकार

वरिष्ठ कवि एवं समालोचक अमर गिरी नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य एवं प्रगतिशील लेखक संघका निवर्तमान केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्षसमेत रहिसक्नुभएका गिरीका घाम छेक्ने पहाड (२०५५), तर पनि हामी जीवित छौं (२०६१), दुःसाध्य समय (२०६४), शब्दहरुका बीचमा (२०७१) र समय संवाद (२०७१) कवितासंग्रह प्रकाशित छन् । समय समाज र संस्कृति (२०६७), समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य (२०७३), भूमण्डलीकरण र साहित्य (२०७४), कवितामा वर्गद्वन्द्व (२०७५), साहित्य विमर्श (२०७५) उहाका समालोचनात्मक कृतिहरु हुन् । उहाले आधा दर्जन कृतिको सम्पादन समेत गर्नुभएको छ । अहिले उहा“ भृकुटी (साहित्य सम्वन्धी अनुसन्धानमूलक जर्नल) का अतिथि सम्पादक हुनुहुन्छ । प्रस्तुत छ– उहासग आभाष बुढाथोकीले गर्नुभएको साहित्यिक कुराकानीको सारसंक्षेप । – सम्पादक

दाङमा फर्किएपछि कसरी समय बिताइरहनु भएको छ ?

साथीभाइहरुसँग भेटघाट र पढाइलेखाइमा दिनहरु बित्दैछन् । अहिले काठमाडौं जाँदैछु । फागुनदेखि स्थायीरूपले दाङ बस्ने गरी फर्कनेछु । २०६० सालमा म काठमाडौं गएको थिएँ । डेढ दशकपछि दाङ फर्कदैछु । राजधानीमा स्थायीरूपमा बस्ने सोचाइ बनाएर मैले दाङ छोडेको थिइन । कतिपयलाई कम्युनिष्ट पार्टीको पूर्ण बहुमतको सरकार भएको बेला अमर गिरी किन दाङ फर्कदैछ भन्ने लागेको पनि पाएँ । मेरो फर्काइको त्यस्तो विशेष कारण केही छैन । राजधानीमा बसेर गर्ने काम अब दाङमै बसेर पनि गर्न सकिन्छ भन्ने निष्कर्षसहित म दाङ फर्किन लागेको हुँ ।

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले सौन्दर्यशास्त्र र भारतीय कम्युनिष्ट आन्दोलसम्बन्धी केही पुस्तकहरु पढ्दैछु । सीतारामको पश्चिम बंगाल र विजयप्रसादको भारतको कम्युनिष्ट आन्दोलनसम्बन्धी पुस्तक भर्खरै पढेर सकें । सीतारामले पश्चिम बंगालमा कम्युनिष्ट सरकारको कामहरुका बारेमा चर्चा गरेका छन् । कम्युनिष्ट सरकार किन असफल भयो ? उनीहरु चुनावमा किन पराजित भए ? तृणमूल कांग्रेस सत्तामा कसरी आयो ? आदि जस्ता प्रश्नहरुको उत्तर खोज्ने प्रयास उनले आफ्नो पुस्तकमा गरेका छन् । एक पत्रकारका रुपमा उनले गरेका कतिपय अनुभवहरु अत्यन्त गम्भीर र मननीय रहेका छन् । विजयप्रसाद विख्यात माक्र्सवादी लेखक हुन् । उनले आफ्नो पुस्तकमा भारतीय कम्युनिष्ट आन्दोलनको सामान्य तस्बिर प्रस्तुत गर्दै निर्वाचनमा कम्युनिष्टहरुको पराजयको बारेमा गम्भीर विश्लेषण गरेका छन् । पराजयका सैद्धान्तिक, वैचारिक, नीतिगत, कार्यक्रमिक एवं सांगठनिक कारणहरुको गम्भीर विश्लेषण मात्र पुस्तकमा गरिएको छैन, कम्युनिष्टहरुले आफूलाई पुनः कसरी बलियो बनाउन सक्छन् भन्ने विषयमा पनि गहन विचारहरु प्रस्तुत गरिएको छ । नेपालमा कम्युनिष्टहरुको पूर्ण बहुमतको सरकार भएको बेला भारतीय निर्वाचनमा कम्युनिष्टहरुले व्यहोर्नु परेको पराजयका कारणहरु हाम्रा निम्ति विशेष मननीय रहेका छन् । भारतीय पाठ नेपालका निम्ति विशेषरूपमा सान्दर्भिक छ र यसबाट गम्भीर शिक्षा लिन जरुरी छ । यहाँ त शुरुवातमै समस्याहरू देखापरिसकेका छन् ।

के लेख्दै हुनुहुन्छ ?

पुस्तक तयार गर्दैछु । पाँच छ महिनापछि पुस्तक बजारमा आउनेछ । यो पुस्तक पनि समालोचनाकै रहेको छ । कवितासंग्रह अलिपछि प्रकाशनमा ल्याउनुपर्ला भन्ने सोच बनाएको छु ।

साहित्यलाई कसरी हेर्नुहुन्छ ?

साहित्य आफ्नो समय र समाजसँग गहिरो गरी जोडिनुपर्छ । त्यसले यसका सुख–दुःख, आँसु–हाँसो, स्वप्न–संघर्ष, घात– प्रतिघात आदिलाई सजीव कलात्मक अभिव्यक्ति दिन सक्नुपर्छ । साहित्य आफ्नो समयको यथार्थसँग जोडिएर, अँध्यारो विरुद्धको मनुष्यको संघर्ष र उज्यालोको भोकलाई प्रभावकारी अभिव्यक्ति दिएर एवं सत्यं, शिवं र सुन्दरम्का पक्षमा उभिएर नै जीवन्त बन्न सक्छ । साहित्यको समाजपरक एवं सौन्दर्यपरक भूमिकाको आलोचना गर्ने दृष्टिकोण गलत छ । साहित्यसम्बन्धी आधुनिकतावादी, उत्तरआधुनिकतावादी दृष्टिकोणहरुले साहित्यको समाजपरक एवं सौन्दर्यपरक भूमिकाको विरोध गर्छन् । शास्त्रीयतावादी दृष्टिकोणहरु पनि साहित्यको सामाजिक एवं वर्गीय पक्षधरताको विरोधमा उभिदै आएका छन् । साहित्यले जीवन र जगत्को कलात्मक पुनःसिर्जना गर्दै सम्पूर्ण विभेद र उत्पीडनबाट मुक्त मनुष्य समाज निर्माणका निम्ति योगदान दिन सक्नुपर्छ । मेरा निम्ति साहित्य सुन्दर संसार निर्माणको कलात्मक हतियार हो । म साहित्यलाई उसको परिवर्तनकारी भूमिकाबाट अलग गर्ने समस्त दृष्टिकोण र भूमिकाको प्रतिवादमा निरन्तर उभिदै आएको छु ।

प्रगतिशील साहित्यको परिभाषा के हो ?

प्रगतिशील साहित्यलाई परिभाषित गर्नु अघि यस सम्बन्धमा केही थप कुरा गर्न आवश्यक छ । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ‘प्रगतिशील’ र ‘प्रगतिवाद’ शब्दका बारेमा निकै छलफल भएको छ । यस्तो छलफल भारतमा पनि भएको छ । भारतमा यी दुबै शब्दलाई समान अर्थ प्रदान गर्ने शब्दका रुपमा धेरैले प्रयोग गरेको पाइन्छ । नेपालमा पनि प्रगतिशील साहित्यिक आन्दोलनमा लामै समयसम्म यी दुबै शब्दलाई समान अर्थमा प्रयोग गर्ने गरियो । पचासको दशकमा प्रलेसभित्र र बाहिर यस विषयमा गम्भीर छलफल आरम्भ भयो र प्रगतिशील र प्रगतिवादका बीचको भिन्नतालाई रेखाङ्कित गर्ने काम गरियो । यी दुबै समान अर्थ प्रदान गर्ने शब्द होइनन् । प्रगतिवादी साहित्य स्वतः प्रगतिशील हुन्छ तर प्रगतिशील साहित्य प्रगतिवादी हुन सक्दैन । प्रगतिवाद साहित्यसम्बन्धी माक्र्सवादी दृष्टिकोण हो । यसलाई माक्र्सवादी साहित्य, समाजवादी यथार्थवादी साहित्यका रुपमा पनि उल्लेख गरिन्छ । माक्र्सवादी साहित्य सिद्धान्तमा आधातिर रहेर सिर्जना गरिएको साहित्य नै प्रगतिवादी साहित्य हो ।

यथास्थितिको विरोध गर्ने, जीवन र जगतको विकास र परिवर्तनप्रति आस्था राख्ने, अन्धविश्वास एवं रुढीहरुको आलोचना गर्ने, तथ्य र तर्कमा विश्वासमा गर्ने, आलोचनात्मक चेतनालाई महत्व प्रदान गर्ने, सबै प्रकारका विभेद, अन्याय र उत्पीडनको विरोधमा उभिने, सामन्तवाद, पुँजीवाद–साम्राज्यवादको प्रतिवाद गर्ने, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा उभिने साहित्य प्रगतिशील साहित्य हो । प्रगतिशील साहित्यले देशभक्तिको भावनालाई अघि बढाउन, विविधताका बीच एकता स्थापित गर्न, श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न, सबैप्रकारका विसंगति र विकृति विरुद्धको चेतनालाई अघि बढाउन, प्रतिगमनका विरुद्ध उभिन र परिवर्तनको प्रक्रियालाई उल्ट्याउन चाहने तत्वहरुका विरुद्ध संघर्ष गर्न, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशीताका पक्षमा उभिन योगदान दिन्छ र दिनुपर्छ । आलोचनात्मक यथार्थवादी हुनु प्रगतिशील साहित्यको महत्वपूर्ण विशेषता हो । प्रगतिशील हुन माक्र्सवादी हुनुपर्दैन । प्रगतिशील साहित्यको सैद्धान्तिक आधार माक्र्सवादी साहित्य सिद्धान्त होइन । आलोचनात्मक चेतना र अग्रगामिता यसको मुख्य अभिलक्षण हो ।

समकालीन समयमा प्रगतिशील साहित्यको भूमिका कस्तो छ ?

यसको भूमिकालाई मूलतः सकारात्मकरुपमा लिनुपर्छ । यसले आफ्नो आलोचनात्मक चेतनालाई अझ प्रखर बनाउन र सिर्जनाको कलात्मक सामथ्र्यलाई अझ माझ्न जरुरी छ । प्रगतिशील भन्दा प्रगतिवादी साहित्य नै हामीकहाँ बढी लेखिएको छ र लेखिदैछ । प्रगतिवादी साहित्य पनि यथार्थको कलात्मक प्रतिविम्बमा अझ सशक्त बन्न आवश्यक छ भन्ने लाग्छ । प्रगतिशील, प्रगतिवादी स्रष्टाहरुको दायित्व आज अझ बढेको छ । उनीहरु आफ्नो बढेको भूमिकाप्रति अझ गम्भीर र संवदेनशील बन्नुपर्छ ।

खबरदारीभन्दा जी हजुरी भन्ने जमात बढी छ भन्ने सुनिन्छ । साहित्यमा यसको प्रभाव कस्तो छ ?

साहित्यमा यसको कमवेसी प्रभाव परेको छ । स्रष्टाले आलोचनात्मक चेतनालाई मर्न दिनहुन्न । जी हजुरी गर्नुभनेको आलोचनात्मक चेतनालाई मार्नु हो । पदमा पुग्ने लोभका कारण कतिपय स्रष्टामा यस्तो प्रवृत्तिको विकास भएको छ । पदको लोभ वा व्यक्तिगत फाइदालाई हेरेर स्रष्टाहरुले गलत कुराको आलोचना गर्ने नैतिक साहस गुमाउन हुन्न । यसले स्रष्टाको सामाजिक दायित्वलाई कमजोर बनाउँछ । साहित्य पनि कमजोर बन्छ ।

वर्तमान समयमा राजनीतिक र सामाजिक परिवेशलाई साहित्यमार्फत कसरी उजागर गर्न सकिन्छ भन्ने ठान्नुहुन्छ ?

राजनीतिक र सामाजिक परिवेषलाई साहित्यमार्फत अभिव्यक्ति दिनु भनेको समकालीन यथार्थलाई अभिव्यक्ति दिनुभनेको हो । स्रष्टा आफ्नो लेखनको सामाजिक दायित्वप्रति सचेत र संवेदनशील बनेर नै समकालीन यथार्थका उज्याला अँध्यारा पक्षहरुलाई सार्थक अभिव्यक्ति दिन सक्छ । मूलतः स्रष्टाहरु सामाजिक र राजनीतिक जीवनका अँध्यारा पक्षहरुप्रति आलोचनात्मक बन्नुपर्छ र नेपाली समाजको अघिल्तिरको यात्रालाई सहयोग पु¥याउनुपर्छ ।

अहिले सांस्कृतिकरुपमा आएको विचलनबारे के भन्नुहुन्छ ?

राजनीतिक क्षेत्रमा मात्र होइन सबै क्षेत्रमा सांस्कृतिक विचलन पाइन्छ । यस विषयमा मैले निरन्तर आफ्ना विचारहरु राख्दै आएको छु । यसलाई अर्को शब्दमा नैतिक मूल्यमा आएको स्खलनका रुपमा पनि उल्लेख गर्न सकिन्छ । यो स्खलनको रुप डरलाग्दो छ । यो स्खलन सबैभन्दा बढी राजनीति र नोकरशाहीतन्त्रमा देखिन्छ । नैतिक मूल्यमा आएको स्खलनका कारण नेपाली समाजको समग्र विकास प्रक्रियामा नै बाधा उत्पन्न भएको छ । नैतिक मूल्यमा देखिएको संकट समकालीन पूँजीवाद र जनतन्त्रमा देखिएको संकटसँग जोडिएको छ । नैतिक मूल्यमा ह्रास नेपालको मात्र होइन, समकालीन विश्वकै एक कटु यथार्थ हो । यसबाट कम्युनिष्ट आन्दोलन पनि प्रभावित छ । सत्ता राजनीतिसँग सम्बन्धित कम्युनिष्ट पार्टी र आन्दोलनमा यसको प्रभाव बढी देखिन्छ । समाज र पार्टी आन्दोलनमा सांस्कृतिक रुपान्तरणको प्रक्रियालाई अघि बढाएर र जीवन विरोधी सांस्कृतिक मूल्य एवं समकालीन पूँजीवाद तथा सामन्तवादका अवशेषहरुका विरुद्ध सघन वैचारिक संघर्ष गरेर नै यसमाथि विजय पाउन सकिन्छ ।

उपभोक्तावादी चिन्तन विकसित हुँदै गइरहेको बारे तपाइको धारणा के छ ?

उपभोक्तावादी चिन्तन र प्रवृत्ति नेपाली समाजका निम्ति हानिकारक छ । यो समग्र विश्वकै नम्ति नै हानिकारक छ । उपभोक्तावादको विशेषता मानिसलाई व्यक्तिवादी र जति खाए पनि नअघाउने खन्चुवा बनाउनु हो । उपभोक्तावादले मानिसमा असीमित तृष्णालाई जन्म दिन्छ । उपभोक्तावाद आवश्यकता होइन लालसा हो, अनन्त कामना र विलास हो । उपभोग र उपभोक्तावाद एउटै होइनन् । उपभोग आवश्यकता हो, उपभोक्तावाद सुखवादी दर्शन हो । उपभोक्तावाद पुँजीवादको उत्पादन हो । यसले पुँजीवादलाई मुनाफाका निम्ति सांस्कृतिक आधार प्रदान गर्छ । उत्पादन, बिक्री र मुनाफा आर्जन अत्यधिक उपभोगसँग जोडिएको छ । पुँजीवाद आवश्यकता मात्र बेच्दैन कृत्रिम आवश्यकता पनि निर्माण गर्छ र त्यसप्रति मनुष्यमा मोह पनि पैदा गर्छ । उपभोक्तावाद यसैलाई टेवा दिने र अघि बढाउने सांस्कृतिक चिन्तन हो । उपभोक्तावाद नेपाली समाजको अघिल्तिरको यात्राका निम्ति गम्भीर बाधकका रुपमा रहेको छ । यसका विरुद्ध सशक्त वैचारिक प्रतिवाद आवश्यक छ ।

श्रम र संस्कृतिबीच के सम्बन्ध छ ?

श्रम र संस्कृतिबीच गहिरो सम्बन्ध छ । श्रम भन्नाले शारीरिक र मानसिक श्रम भन्ने बुझिन्छ । श्रमका यी दुबै रुपको संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका रहन्छ । संस्कृतिलाई मनुष्य निर्मित दोस्रो प्रकृति मानिन्छ । श्रम आवश्यकतासँग जोडिएको छ । श्रमको प्रक्रियामा नै मनुष्यले संस्कृतिको निर्माण गर्दै आयो र गर्दैछ । संस्कृतिको क्षेत्र निकै फराकिलो छ । सबै संस्कृति मनुष्यका भौतिक र आत्मिक क्रियाकलापका उत्पादन हुन् ।

प्रज्ञा प्रतिष्ठानसँग पनि जोडिनुभयो । नेपाली साहित्यको उन्नयनमा यसले निर्वाह गरेको भूमिकालाई कसरी हेर्नुहुन्छ ?

समग्रमा यसको भूमिकालाई सकारात्मकरुपमा लिनुपर्छ ।

तपाइका कुनै नया कृति प्रकाशोन्मुख छन ?

केही कृतिहरु प्रकाशनको तयारीमा छन् ।

अबको जीवन कसरी बिताउने सोच बनाउनुभएको छ ?

मूलतः एक लेखकका रुपमा बाँकी जीवन बिताउने सोच बनाएको छु ।

थप छुटेका कुरा ?

अहिलेलाई यति नै पर्याप्त छ ।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top