Free songs
Home / सम्पादकीय / संविधान निर्माणसम्म स्थिर सरकार

संविधान निर्माणसम्म स्थिर सरकार

रातारात कुनै चमत्कार भएन भने यसपटक सजिलै सरकार बन्ने देखिएको छ । संविधानसभाका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने सहमति भएपछि अब सायद यसलाई भत्काउन कोही लाग्ने छैनन् । राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने थियो तर बन्न सकेन । सहमतीय सरकार नबनेपछि अब बहुमतीय प्रक्रियाबाट सरकार बन्नु स्वाभाविक छ । बहुमतीय सरकार पनि पहिलो चरणमै बन्न सक्यो भने त्यो राम्रो कुरा हो, जसका सकारात्मक संकेत देखिएका छन् । संविधानसभाका तेस्रो र चौथो दलले यसअघि नै प्रतिपक्षमा बस्ने घोषणा गरिसकेको सन्दर्भमा पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु स्वाभाविक र सरल निकास हुन्छ, जसका लागि एक हदसम्म सहमति पनि भइसकेको छ । सरकार गठन गर्दा सत्ता साझेदारीमा के सहमति भयो, कुन दल वा कुन व्यक्तिले कुन मन्त्रालय पाउ“छ भन्ने महत्वपूर्ण होइन, महत्वपूर्ण सवाल त अब बन्ने सरकार संविधान निर्माणका लागि कति सहयोगी बन्नसक्छ भन्ने हो ।
अब बन्ने सरकारका मुख्यतः दुईवटा कार्यभार हुनेछन् । एउटा संविधान निर्माणमा सहयोगी बन्नु र अर्को सबै पक्षलाई समेटेर सरकार सञ्चालन गर्नु । त्यो बाहेक दैनिक प्रशासन कसरी सञ्चालन गर्छ र कत्तिको जनमुखी कार्यक्रम अघि सार्नसक्छ, त्यो सरकार सञ्चालक दलहरुकै प्रतिष्ठाको सवाल हो । अघिल्लो संविधानसभा निर्वाचनपछि बनेको सरकारका पनि दुईवटा कार्यभार थिए । शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधान निर्माणमा सहयोगी बन्ने । अघिल्लो संविधानसभापछि बनेका विभिन्न सरकारहरु शान्ति प्रक्रियाका लागि सहयोगी नै बने र अन्ततः संविधानसभा भंग हुनुभन्दा केही समयअघि शान्ति प्रक्रियाले पूर्णता पायो । शान्ति प्रक्रियाका केही कार्यभार अझै बा“की छन् ।
बेपत्ताको खोजी गर्न र सत्यनिरुपण तथा मेलमिलापका लागि आयोग बनाउने, द्वन्द्वका पीडालाई कम गर्दै पुनस्र्थापना र पुनर्निर्माणका काम गर्न अझै बा“की छन् तर पनि सेना समायोजनस“गै शान्ति प्रक्रियाको मूल पाटो सकिएको छ । अब बन्ने सरकारले पनि शान्ति प्रक्रियाका बा“की कार्यभार पूरा गर्नतिर ध्यान दिनुपर्नेछ नै तर पनि मूलरुपमा अबको सरकार संविधान निर्माणमा सहयोगी हुनु जरुरी देखिन्छ । संविधान निर्माणको काम गर्ने मुख्य निकाय संविधानसभा नै हो । सामान्यतया संविधानसभा र सरकार फरक–फरक निकाय हुन् र यिनीहरुमा एकअर्काका कार्यसूची फरक हुन्छन् पनि भन्ने गरिन्छ । तर, नेपालमा त्यो कुरा व्यवहारमा देखिएन ।
सरकार ढल्ने र बन्ने क्रमले संविधानसभाको मुख्य काम नै ओझेलमा पर्ने र अन्ततः संविधानसभा नै असफल हुने स्थिति अघिल्लोपटक देखियो । संविधान बनाउने काम संविधानसभाको हो र सरकार बनाउने काम व्यवस्थापिका–संसदको हो तर यी दुबै भूमिका फरक–फरक भए पनि निकाय एउटै हो । उनै सभासद्ले संविधान निर्माण र सरकार निर्माणमा भूमिका निर्वाह गर्ने भएकाले सरकार र संविधान निर्माण एक आपसमा अन्तरसम्बन्धित छन् । फेरि नेपालमा भूमिकाभन्दा पनि संस्था हावी हुने संस्कार बढी छ, राजनीतिमा यो संस्कार अझ बढी हावी देखिन्छ । त्यसैले पनि संविधान निर्माणका लागि सरकारको स्थायित्व जरुरी देखिन्छ । अघिल्लो संविधानसभाले भोग्नुपरेको नियति पुनरावृत्ति हुन नदिन पनि यसपटक संविधान निर्माणसम्म स्थिर सरकार जरुरी छ, त्यसपछि नया“ संविधानअनुसार सरकार बनाउने प्रक्रिया फेरि शुरु होला नै ।
अहिलेको सरकारको दोस्रो दायित्व हो, सरकार सञ्चालनमा सबै पक्षलाई समेटेर अघि बढ्ने । अहिलेको सरकार सामान्यकालको सरकार होइन, संविधान निर्माणका लागि सहयोगी भूमिकाको अपेक्षासहित गठन हुने सरकार हो । त्यसैले यसले गर्ने क्रियाकलाप संविधान निर्माणमा पनि जोडिन्छ । सरकार संविधानसभाभित्र तर सरकारबाहिर रहेका रहेकाहरुलाई मात्र होइन, संविधानसभाकै बाहिर रहेका शक्तिहरुलाई समेत सहमतिमा ल्याएर अघि बढ्नु आवश्यक हुन्छ । त्यसका लागि सरकार वा संविधानसभाबाहिर रहेका दलहरुले उठाएका सवाललाई सम्बोधन गर्दै विवाद सिर्जना गर्ने खालका राष्ट्रिय महत्वका विषयमा कुनै पनि निर्णय नलिनु नै उपयुक्त हुनेछ । आफ्नो नीति, कार्यक्रम तथा बजेट निर्माणमा पनि सबै पक्षलाई समेट्ने प्रयत्न गर्नु जरुरी छ । यसरी संविधान निर्माण नहु“दासम्म स्थिर सरकार बन्न सक्यो र सबै पक्षलाई समेटेर सरकार सञ्चालन गर्न सक्यो भने त्यो भूमिका संविधान निर्माणका लागि सहयोगी ठहरिने छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top