Free songs
Home / शनिबारको सौगात - साहित्य विशेष / रुप र धनमा जोडिएको माया (कथा)

रुप र धनमा जोडिएको माया (कथा)

दीपक घिमिरे
उनले आज मलाई सम्झाइनन् । आशा गरेको थिएँ फेरि रुँदै भन्नेछिन्– “प्लिज काले नरिसाउनुस् न, हजुर रिसाउँदा मलाई रुन मन लाग्छ ।” तर खै किन हो आज उनले म रिसाएको नाटक गर्दा पनि मतलब नै नगरी फोन काटिदिइन् । म बक्क परें । हिजो म रिसाउँदा हातै काटेर देखाउने अनि कल माथि कल गरेर सम्झाउने केटीले आज यसरी फोन काटिदिदा मनमा चिसो पस्यो । जिउ थर्रर…. काम्न थाल्यो । मनमा अनेक कुरा खेल्न थाले । प्रत्येक मिनेटमा उनको म्यासेज या कल आउँछ कि भनेर मोबाइल हेर्न थालें ।
म माया गर्छु उनलाई, धेरै भन्दा धेरै । सायद आफूभन्दा पनि धेरै । तर, म मा पनि वाध्यता छ र उनमा पनि त्यो वाध्यता छ । हामी एक अर्काको नजिक अझ भनौं मुटु एकै गराएर जीवन जिए तापनि जीवनसाथी बन्न सक्दैनांै । कारण धेरै छन् तर उनले र मैले गरेको सम्झौता नै जीवनभरको साथको छ । जीवनसाथी बन्ने सम्झौता गरेको छैन मैले तर पनि खै किन हो यति धेरै माया लाग्छ । कसरी छुट्टिएर बस्ने होला भनेर कल्पना पनि गर्न सक्दिनँ । मेरो माया मलाई लाग्छ दुईतर्फी नै छ, किनभने उनी पनि मलाई माया गर्छिन् मात्र आज खै किन यस्तो गरेकी छन् म पनि अच्चम्ममा परेको छु ।
फोन आएन, न त म्यासेज नै आयो । मनमा एक प्रकारको हावाहुरी चल्न थाल्यो । म आफंै कल गरौं भने म रिसाएको नाटक गरेको के काम भयो र ? नगरौं त उनले कुनै प्रतिक्रिया नै जनाइनन् । घरमा खाना खाने समय भएको छ । घरभित्रबाट आमाले खान आउने उर्दी जारी गर्नु भो तर मनमा खाना भन्दा उनको मायालु बोलीको र म्यासेजको भोक लागेको छ । मैले बहाना गरेर खाना नखाने कुरा भनें । घरमा खैलाबैला मच्चियो । आखिर मायालु छोरा परें । आमाको मनमा छोरालाई के भएछ भन्ने भयो, निधार छाम्न आउनुभयो । मैले नाटक गरेर बिरामी भएको छु भनेको त आमाको मनले के मान्थ्यो र खाना खान दिन छाडेर मेरो कोठामा आउनुभयो ।
“खै ज्वरो छैन त जेठो, फेरि किन भात खान्न भन्छस् त, हिन छोरा अलिकति भए नि खाऊ नत्र झन अप्ठ्यारो हुन्छ बा” आमाले आग्रह गर्नुभो । उहाँलाई के थाहा मलाई मायाको ज्वरो आको । न भन्न सक्थें न त खाना खान जान सक्थें । अनेक बहाना गरेर बिस्तरामा पल्टिदै उनको यादमा बसिरहें । नाटक गरेको तीन घण्टा बितेछ । तर उनले मलाई सम्झिनन् । म नै वाध्य भएँ उनलाई कल गर्न ।
“अँ भन्नुस् ।” हेल्लो पनि नभन्दै उनले भनिन् । “खुब शान झारेकी छेस् त, यतिका समयसम्म पनि एक कल फोन या म्यासेज गरिनस् अनि के को माया गर्छु भन्छेस् तँ ?”– मैले मायारुपी भावमा भनें । “सकियो अब माया साया, के नै बाँकी छ र ? जहिले हो भेट गरिनस् भन्नुहुन्छ, मलाई कति गाह्रो हुन्छ समय मिलाउन, हजुरले बुझ्नुहुन्छ र ?”– मनमा माया भए पनि समयले साथ नदिएको कुरा भनिन् । मैले मनलाई सम्झाउँदै कुराको बाटो मोडें । “काली प्लिज आउँदो शनिवार भेटम न है”– मैले फेरि मायालु आग्रह गरें । “हेरौ के हुन्छ अहिले नै भन्न सक्दिनँ के, जुन दिन लेखेको छ त्यो दिन अवश्य भेटने छु ।” सामान्य शब्दमै पन्छिने कुरा गरिन् । “ल ल म स्कूलमा छु, छुट्टीमा कुरा गरौंला है ।” यति भन्दै फोन काटिन् । मलाई लाग्छ म नै उनको पछाडि लागेको छु, तर हरेक कुरामा मैले भन्दा धेरै माया उनले नै गर्छिन् भन्ने भाव उनले देखाउँछिन् । म फेरि पर्खाइमा बस्न थालें, कति बेला उनको स्कूलको छुट्टी होला र उनलाई भेट्न पाउँला भनेर ।
घडीले दिउँसोको ४ बजायो । मेरो मन त्यसै उत्सुकताले भरिभराउ भएको छ । मिलनचोक जहाँ हामी पहिलेदेखि मायाका कुरा साटासाट गर्दै पानीपुरीको मजा लिन्थ्यौ, त्यही ठाउँमा आज पनि बोलाएको छु । हामीहरुले एक अर्कालाई हेराहेर गर्ने ठाउँहरु धेरै फेरिए, कहिले कहाँ त कहिले कहाँ तर यो ठाउँ अलि फरक छ, हाम्रो माया प्रेमको लागि किनभने जहिले मलाई या उनलाई मायाप्रति विश्वास लाग्दैन या भनौ झगडा हुन्छ हामी दुबैजनाले यही ठाउँलाई रोजेर भेट्ने अनि दुःख पोख्ने गन्तब्य बनाउँछौ र आज मैले यो मिलनचोकलाई रोजेको छु ।
सधैं पानीपुरी खाने ठाउँमा म बसेर उनलाई पर्खिरहेको छु । उनी आउने बाटोमा नजर लगाइरहेको छु । घडीमा साढे ४ बजेको छ तर उनी आउने अत्तोपतो छैन । फोन गरें तर उनको फोन बिजी छ । मन सम्झाउन नै सकेको छैन, आखिर आजभोलि किन यस्तो गर्दैछे त यो केटी ? उनीप्रतिको नकारात्मक सोच मनमा पलाउन थालेको छ यतिबेला । विगतलाई सम्झन्छु– कति माया गर्थी उसले मलाई अनि वर्तमानलाई सम्झिन्छु कति टाढिन खोज्दैछे त्यो । मनमा जति नकारात्मक सोचाइ आए पनि फेरि एकपटक कल गर्न मन लाग्यो अनि कल गरें । फोन लाग्यो र उठ्यो पनि । “म घरमा छु आउन सकिनँ, सरी ल । अनि अहिले घरमा बाबा मामु हुनुहुन्छ पछि कुरा गरौंला है”– उनले आफ्नो मात्र कुरा सकेर फोन काटिन् । म स्तब्ध भएँ । माया यति थियो कि उनलाई चाहेर पनि भुल्न सक्दिनथें तर पनि उनका हरेक शब्दमा लुकेको बहानाले भुल्नको लागि प्रेरित गर्न थाल्यो । रिसले आगो हुँदै घरमा आएँ अनि उनले मलाई गरेको मायामा किन परिवर्तन आयो भनेर पत्ता लाउने प्रयास गरें ।
अप्सरा उनको र मेरो बाल्यकालदेखिको साथी हो । हाम्रो माया प्रेमको बारेमा उसलाई थाहा छैन । उनको स्कूलको पनि स्टाफ हो अप्सरा । उसैलाई सोध्ने निधो मनमा फु¥यो । आखिर अरु कसैको माया प्रेममा परेर मलाई बिर्सने कोसिस गरेकी पो हो कि ? यदि त्यस्तो हो भने पक्का पनि अप्सरालाई त थाहा छ । मनमनै कुरा सोध्ने निधो गरें अनि कल गरें अप्सरालाई । “ओ हो शरद कहाँबाट याद ग¥यौ यार आज मलाई ?”– उत्सुकताका साथ अप्सराले मलाई सोधिन् । “के कुरा गछ्र्यौ तिमी पनि याद त सधैं गर्छु नि तर याद आउँछ भन्दैमा के कल नै गर्नुपर्छ र ?” मैले पनि उसलाई मख्ख पार्दिएँ । “हुन त हो नि शरद, अनि के छ भन ?” उसले मलाई राम्ररी चिनेकी छ मनैदेखि चिनेकीले होला प्वाइन्ट्मा आएर कुरा गर्न थाली । “मेरो त ठीकै छ । बरु एउटा काम थियो त्यसैले कल गरेको हुँ, राम्रो साथी मान्छ्यौ भने नढाँटी भन्नु ल ।” मैले पनि कुराको शुरुवात गर्न खोजें । मलाई थाहा थियो । “बिना काम त तिम्ले यो अप्सरालाई के सम्झिन्छौ र ? भन न त के हो”– हाँसेरै सोधी उसले । म पनि खुशी भएँ । “त्यो तिम्रो स्टाफ निर्मलाको लव परेको छ रे हो ? प्लिज नढाटी भन न है ?”– मैले सोधें । तिमीलाई किन चाहियो अर्काले जे गरुन् तिमीलाई के मतलब ?” उसले नभन्ने मुडमा कुरा गरी । मन खिन्न पार्दै आग्रह गरें अनि उसले भन्न वाध्य हुँदै भनी– “हो निर्मलाको लव परेको छ, एक महिना हुन थाल्यो । केटो पनि ठीक छ अनि हाम्रो स्कूलकै स्टाफ हो । धनी छ । पढेलेखेको छ अनि त निर्मला पनि खुशी छ त्योसँग, तर प्लिज शरद कसैलाई नभन है ।” म छाँगाबाट खसे जस्तो भएँ । धेरै कुरा गर्न सक्ने अवस्था थिएन अनि मैले ल त अप्सरा अहिलेलाई बाइ भन्दै फोन काटें ।
फेरि मेरो प्रेमले हावा खायो । रुप, धनले अनि पढाइले म पछाडि परें । हाम्रो माया प्रेम जीवनसाथी बन्ने सपनाको थिएन मात्र सुख दुःखको थियो तर पनि मैले उनको साथ पाउन सकेन । अनि बल्ल मैले बुझें यो दुनियाँमा पैसाले नै सबै चिज किन्न सकिन्छ नत्र भने चोखो माया गरेर सुख दुःखमा साथ दिन्छु भन्नुको कुनै अर्थ रहने छैन । माया त धन अनि रुपमा पो अडिएको हुनेरहेछ भन्ने थाहा पाएँ ।

Loading...

About nayayougbodh.com.np

5 comments

  1. आज फुर्सद मा पढ्ने मौका मिल्यो राम्रो प्रेम कहानी दाजु जे गर्छ धनले नै गर्ने रहेछ….सोच्छ मनहुने, सफा दिल हुनेहरु पछाडी पर्ने रहेछन …“खै ज्वरो छैन त जेठो, फेरि किन भात खान्न भन्छस् त, हिन छोरा अलिकति भए नि खाऊ नत्र झन अप्ठ्यारो हुन्छ बा” आमाले आग्रह गर्नुभो यो शब्द ले मेरो मन छोयो एकछिन भावुक बनायो दिपक घिमिरे दाजु ……धेरै राम्रो छ हार्दिक शुभकामना र युगबोध टिमलाई धन्यबाद साथै सफलता को शुभकामना …….
    नीमकान्त डाँगी

  2. मायाँत रुप अिन धनमा पाे अिडयकाे हुदाे रैछ भन्नी थाहा पाय।

  3. आज यस्सो समय मिलाएर दाइको कथा पढे‌ । लेखनशैली ‍सान्दर्भिक छ, रोचक छ र भावुक पनि । यथार्त त सन्देशमुलक छ । ‍‍‍‍‍‍‍‍‍््््््् अब निर्मलाको नयाँ प्रेमीले पुरानो कुरा थाहा पायो भने पक्कै निर्मलाको सुखी क्षण आउँछ जस्तो लाग्दैन ्््््््् अर्कालाइ धोका दिएर उन्मुक्ति पाइँदैन । आजभोलि हामीमा बढ्दै गएको पश्चिमा प्रवृत्ति हावी छ । दिनप्रतिदिन व्यक्ति स्वार्थी बन्दैछ समयमै सजक हुन आवश्यक छ भन्ने सन्देश मैले पाएँ ।

  4. dada hajurko katha dheraimanparyo mero jibansanga bastabik mel khayo malaipani tei pal ra tei ghatnale mutu chiso banayo tapai ra malai jasle yesari dhanma bikera chokhoperemko apaman gareko6 yekdin pabitra peremko paschatap hune6

  5. सारै राम्रो लग्यो अझ पनि यो भन्दा राम्रो साहितिक खुरक पढ्न पाए अभारी हुने थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top